काठमाडौं – अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो ।
अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ । पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका सङ्क्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ ।
अमेरिकाको वृद्धि कस्तो छ ?
२१ ज्यानुअरीमा पहिलो सङ्क्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ । सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो ।
र त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो । ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए ।त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो । त्यसको १६ दिनमा पचास लाख र अर्को २२ दिनमा सङ्क्रमण ६० लाखभन्दा बढीमा पुष्टि भयो । –बीबीसी