टोकियो – विश्वव्यापी मौद्रिक तथा वित्तीय नीतिहरु अति उत्तेजक हुने अपेक्षासँगै लगानीकर्ताहरुले लगानी बढाएपछि सोमबार एशियाली शेयर बजारले २९ महिनायेताकै उच्च विन्दुमा पुगेकाे छ।
सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.५ प्रतिशतले बढेर सन् २०१८ मार्च महिना यताकै उच्च विन्दुमा पुगेको छ। गत हप्ता उक्त सूचकमा २.८ प्रतिशतको बढोत्तरी देखिएको थियो।
चीनको ब्लूचीप सूचक ०.७ प्रतिशतले बढेको छ। सन् २०१५ को मध्यपछि उक्त सूचकमा यस्तो स्तरको बढोत्तरी देखिएको थिएन। त्यस्तै, एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ०.५ प्रतिशतले बढेको छ।
यसैगरी, जापानको निक्केई एन २२५ सूचकमा १.९ प्रतिशतको बढोत्तरी देखिएको छ। वारेन बफेटको वर्कशायर हाथवेद्वारा जापानको पाँच प्रमुख व्यापारिक कम्पनीहरु प्रत्येकसँग ५ प्रतिशतभन्दा अधिक हिस्सा खरिद गरिएको भन्ने समाचार बाहिरिएसँगै उक्त सूचकमा बढोत्तरी देखिएको हो।