काठमाडौं – स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ ।आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको हो ।
अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निशुल्क परीक्षण गर्ने पाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले आशङ्काकै भरमा परीक्षण गराउन खोज्ने र भनसुन बढी हुने गरेका खबरबीच मन्त्रालयले नयाँ निर्णय लिएको हो ।
घट्यो शुल्क
तीन प्रकारका व्यक्तिबाहेक अन्य व्यक्तिले परीक्षण गराउन चाहेमा शुल्क तिर्नुपर्ने छ । शुल्क लिएर परीक्षण गर्न ११ वटा निजी अस्पताललाई अनुमति दिइएको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार परीक्षणको व्यवस्था परिमार्जन गरिएसँगै शुल्क पनि घटाइएको छ । अब अधिकतम कुल ४,४०० रुपैयाँ लिएर परीक्षण गर्नुपर्नेछ । यसअघि ५,५०० रुपैयाँमा सेवा शुल्क थप गरी लिन पाउने व्यवस्था थियो ।