काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन भनसुन गर्ने क्रम बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर कोरोनाको अचुक औषधि नभएको बताउँदै शंकास्पदको मात्रै परीक्षण गरिने बताए ।
उनले कसैलाई आफूखुसी परीक्षण गराउन मन लागेको भए पैसा तिरेर गर्ने व्यवस्था मिलाइएको भन्दै भनसुन नगर्न आग्रह गरे । ‘पीसीआर गर्न भनसुन गर्ने प्रवृत्ति बढेकोप्रति ध्यानाकर्षण भएको छ । यो कोरोनाको अचुक औषधि होइन । यसमा प्रयोग हुने उपकरण नेपालमा बन्दैनन् । ठूलो धनराशी विदेशिन्छ,’ उनले भने, ‘सरकारले शंकास्पदको निशुल्क परीक्षण गर्छ । आफूखुसी परीक्षण गराउनले पैसा तिरेर गर्ने व्यवस्था मिलाइएको छ । त्यसैले अनावश्यकरुपमा परीक्षण नगर्न नगराउन अनुरोध छ ।’
उनले महँगो सामग्रीको अभाव समेत रहेकाले अनावश्यक रुपमा परीक्षण नगर्न आग्रह गरे । नेपालमा ६ लाख ७९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३७ हजार ३४० मा संक्रमण पुष्टि भएको छ ।