टोकियो – सोमवार एशियाली क्षेत्रका शेयर बजार उकालो लागेका छन् । कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड–१९ को उपचारको आशा बढेसँगै शेयर बजारले टेवा पाएको हो।
चीन र अमेरिकाका उच्चस्तरीय व्यापार प्रतिनिधिहरुले पहिलो चरणको व्यापार सम्झौताको भविष्यको बारेमा रचनात्मक वार्ता भएको खबरले पनि बजार प्रभावित भएको बताइएको छ।
जापान बाहिर एशिया प्यासेफिक शेयरको सबैभन्दा ठूलो सूचक यस दिन ०.३ प्रतिशत बढेर जनवरी यताकै उच्च विन्दुमा पुगेको छ भने दुई वर्ष यताकै उच्च विन्दुभन्दा केही तल पुगेको छ।
जापानको निक्केई १ प्रतिशत बढेको छ भने बैंकिङ्ग स्टकहरुले अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स २०० लाई ०.८ प्रतिशत माथि उक्लिन टेवा दिएको छ। हंगकंग र चीनमा शेयर बजार सामान्य अवस्थामा खुल्ने फ्युचर्सले संकेत गरेको छ। एस एण्ड पी फ्युचर्स ०.३ प्रतिशत बढेको छ।
अमेरिकाको नियामकहरुले आइतबार कोभिड १९ संक्रमण मुक्त भएका व्यक्तिहरुको प्लाज्मा अन्य संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति दिएसँगै एस एण्ड पी ५०० १ प्रतिशत बढेको थियो।