काठमाडौं – कोभिड-१९ ले विश्वका अधिकांश देशलाई प्रभावित पारेको छ । तर १० वटा देश अहिले फैलिएको महामारीबाट मुक्त छन् । तिनले के गरेर कोरोनाभाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ ?
पलाउ होटल सन् १९८२ मा खोलिएको हो । चारैतिर नीलो समुद्रले घेरिएको यो सानो देशमा त्यतिखेर व्यापक रूपमा पर्यटन सुरु भएकै थिएन । सन् २०१९ मा पलाउमा ९०,००० पर्यटक आए । उक्त सङ्ख्या त्यहाँको जनसङ्ख्याको पाँचगुना बढी हो । सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ४० प्रतिशत योगदान रहेको जनाएको थियो ।
तर त्यो सबै अब कोभिडभन्दा पहिलेको समय हो । गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन् । पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन । तर एक जनामा पनि सङ्क्रमण नभईकनै भाइरसले यो देशलाई आघात पारिरहेको छ ।
पलाउ होटल मार्चदेखि बन्द रहेको छ । त्यहाँका रेस्टुराँ रित्ता छन् । कोसेली बेच्ने पसलहरू बन्द छन् । होटलका पाहुना भनेका स्वदेश फर्किएर क्वारन्टीनमा राखिएकाहरू मात्र छन् ।“संसारमा अन्यत्रभन्दा यहाँका समुद्र राम्रा छन्,” पलाउ होटलका सहसंस्थापक ब्रायन ली भन्छन् । यही नीलो सागरले ब्रायनलाई व्यस्त राख्थ्यो । कोभिडभन्दा पहिले उनको होटलका ५४ कोठामध्ये ७० देखि ८० प्रतिशत भरिन्थे । तर अहिले खाली छन् ।
आफ्ना २० जना कर्मचारीलाई हाल पालिरहेको उनले बताए । अर्को छ महिना धान्न सक्ने उनको विश्वास छ । त्यसपछि भने होटल बन्द गर्न बाध्य हुनसक्ने उनी बताउँछन् । उनी सरकारलाई दोष दिन चाहँदैनन् । कम्तीमा भाइरस छिर्न नदिएकोमा खुसी छन् ।
त्यहाँका राष्ट्रपतिले हालै सेप्टेम्बर १ तारिखदेखि आवश्यक हवाई यात्रा सुरु गर्ने बताएका छन् । साथै ताइवानबाट पर्यटक ल्याउनेबारे कुराकानी भइरहेका छन् । त्यो छिटो भइदिए हुन्थ्यो भन्ने ब्रायनलाई लाग्छ । न्यूजील्यान्ड तथा अन्य त्यस्तै देशसँग यात्रा सम्पर्क थाल्नुपर्ने उनको धारणा छ । नत्र जीविका अप्ठ्यारोमा पर्ने उनी बताउँछन् ।
करिब ४,००० किलोमिटर पूर्वमा रहेको मार्शल आईलन्ड्स पनि भाइरसमुक्त छ । तर पलाउजस्तै भाइरस नहुँदैमा प्रभाव नपरेको चाहिँ छैन । त्यहाँका होटलहरूको पनि हालत उस्तै छ । देशभरिमा ७०० जागिर गुम्ने ठानिएको छ । जुन सन् १९९७ यताकै खराब अवस्था हो । तीमध्ये २५८ जागिर होटल तथा रेस्टुराँ क्षेत्रका हुन् ।जताततै असर
मार्शल आईलन्ड्स चाहिँ पर्यटनमा पलाउभन्दा कम निर्भर छ । यहाँको ठूलो समस्या मत्स्य उद्योगमा देखिन्छ । देशलाई कोभिडमुक्त पार्न सङ्क्रमित देशमा पुगेका पानीजहाजलाई फिर्ता हुन दिइएको छैन । इन्धन बोक्ने जहाज तथा कन्टेनर जहाजलाई पनि १४ दिन समुद्रमै क्वारन्टीनमा राखेर मात्र भित्रिन दिइएको छ ।
प्रभाव स्पष्ट छ । मार्शल आईल्यान्ड्सको मुख्य निर्यात मानिने अक्वेरीअममा राखिने माछाको निकासी ५० प्रतिशतले घटिसकेको बताइन् । सासिमी टुना माछाको निकासी पनि उत्तिकै घटेको छ । अन्य मत्स्य उद्योग यो वर्ष एकतिहाइले घट्ने ठानिन्छ ।
अर्को देश भानुआटु पनि भाइरसका कारण आर्थिक रूपमा प्रभावित भएको छ । उसको कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतले घट्न सक्ने एशियाली विकास ब्याङ्कले जनाएको छ । तीन लाख जनसङ्ख्या भएको भानुआटुको जनस्वास्थ्य कार्यालयका निर्देशक डा. लेन टारिभन्डा अहिलेका निम्ति कोभिडबाट जोगिनु नै उनीहरूको निम्ति उत्तम विकल्प हो भन्ठान्छन् ।
छोटकरीमा भन्दा तपाइँले भाइरसलाई बाहिरै राखेपनि त्यसको प्रभावलाई भने निमिट्यान्न पार्न सक्नुहुन्न । जसरी होस् कोभिड-१९ ले सताएरै छाड्छ । –बीबीसी