नयाँ दिल्ली – करिब एक वर्ष पहिला मुम्बईमा बस्ने ४१ वर्षीय पंकज भवनानीको जीवन सामान्य थियो । श्रीमती राखी र दुई जना जुम्ल्हा बच्चाको साथमा कर्पोरेटको क्षेत्रमा राम्रो पदमा जागिरे थिए । सन् २०१९ अक्टोबरमा उनलाई ट्युबरक्लोसिस (टीबी) भयो ।
टिबीले उनको फोक्सोमा आक्रमण गरेको थियो र छ महिनाको उपचार पछि करिब ८० प्रतिशत निको भए । तर उपचारपछि पनि उनको समस्या कम भएन । फेब्रुअरीमा परिक्षण गर्दा टीबीको ब्याक्टेरियाले उनको मस्तिष्कमा पनि संक्रमण भयो र तीन महिना पछि उनको आखाको देख्न सक्ने शक्ति नष्ट भयो र खुट्टाको सन्तुलन बिग्रिदै गयो ।
“लकडाउन सकिसकेको थियो र १६ जुलाईमा छ घण्टासम्म मेरो ब्रेन सर्जरी भयो र इन्फेक्सन सफा गरियो । दश दिन सम्म अस्पतालमा कडा औषधि खानुपर्ने थियो र त्यसपछि मलाई डिस्चार्ज गरे ।” उनि भन्छन्, “एक वर्षको लागि उक्त औषधि सेवन गर्ने निर्देशन दिइएको छ । तर अहिले त्यो भन्दा पनि ठुलो समस्या औषधिको कमि भएको छ । एक हप्ता पछि बजार देखि सरकारी अस्पताल कहिँपनि उक्त औषधि उपलब्ध थिएन ।”
पंकज भवनानी भन्छन्, “टीबीको उपचार गर्ने ट्रीटमेन्ट यदि बीचमा रोकियो भने उक्त रोग निको हुँदैन र मानिसको मृत्यु हुन्छ , जब औषधि सकियो र कतै भेटिन तब मेरो परिवारको सदस्य पाँच दिन सम्म रातभरी सुतेका थिएनन्, डर लागिरहेको थियो कि कतै मेरो बच्चालाई संक्रमण सर्दैन ।”
पंकजको परिवार र कार्यरत कम्पनीले प्रधानमन्त्री कार्यालय, महाराष्ट्र सरकार, सबै ठुलो अस्पताल तथा थुप्रै निजि संस्थामा औषधिको लागि अनुरोध गरे ।टीबीको औषधि जापानबाट आयात हुन्छ र कोरोना महामारीको कारण आयात ठप्प छ । उनको श्रीमती राखीले ट्वीटरमा कुरा फैलाइन् र पछि उनिहरुलाई औषधि मिल्यो ।
ट्यूबरक्लोसिस (टीबी)
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार, अन्य राष्ट्रको तुलनामा टीबीको कुल संक्रमित संख्या भारतको अधिक रहेको छ । हरेक वर्ष कुल मृत्यु हुने संख्याको एक तिहाई भारतका रहेका छन् ।
भारतमा उक्त रोगबाट वर्षेनी चार लाख ८० हजार मानिसको मृत्यु हुने गर्दछ । तथ्यांकलाई गम्भीरतापुर्वक अध्ययन गर्ने हो भने स्थिति निकै डर लाग्दो भएको छ । भारत सरकारको अनुसार हरेक दिन टीबीको कारण एक हजार तीन सयको मृत्यु हुनेगर्दछ ।
भारत पछिल्लो ५० वर्ष देखि टीबीको रोकथाममा लागिपरेको छ तर अहिले पनि यस रोगलाई भारतमा “साइलेन्ट किलर” उपनाम दिइएको छ । उक्त तथ्यांक कोरोना महामारी भन्दा अगाडी हो । जनवरीको अन्तिम हप्ता पछि भारतमा कोरोना संक्रमण व्यापक रुपमा फैलियो र २४ मार्चमा देशव्यापी लकडाउन शुरु भयो ।
सरकारी तथ्यांकको अनुसार टीबीका बिरामी घटेर आधा भएका छन् । कोरोना भाइरसको कारण टीबी रोगका बिरामीको अप्रत्याशित गिरावट दर्ता भएको छ । उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, महाराष्ट्र र गुजरात सहित बिहार पनि ती राज्यहरुमा पर्दछन् जहाँ टीबीका अधिक बिरामी उपचारको लागि रिपोर्ट हुने गर्दथे ।
संक्रमणको जोखिम
सामुदायिक स्तरमा टीबीको सक्रमण बढ्न सक्ने जोखिम बढ्दै गएको छ । टीबीको रोग समयमा पत्ता लागे उपचार गर्न सजिलो हुन्छ र बिरामीलाई औषधिको पुरै कोर्स तथा सरकारको तर्फबाट पौष्टिक भोजनको लागि हेरक महिना पाँचसय भारतीय रुपैयाँ अनुदान मिल्दछ ।
नरेन्द्र मोदीको सरकारले सन् २०२५ सम्म देशलाई टीबी मुक्त बनाउने घोषणा गरेको छ तर कोरोनाको कहरले टीबीको औषधि र उपचारमा समस्या उत्पन्न भएको छ । एपीडेमियोलोजी एण्ड ग्लोबल हेल्थ तथा म्याकगिल अन्तराष्ट्रिय टीबी केन्द्रका प्रमुख डाक्टर मधु पाई यस पुरै घटनाक्रममा अध्ययन गरिरहेका छन् ।
उनको अनुसार, भारतले घोषणा गरेको टीबी सन् २०२५ सम्म अन्त्य गर्ने योजनालाई अझ पाँच वर्ष अगाडी गर्नुपर्ने हुन्छ मतलब सन् २०३० सम्मको योजना राख्नुपर्ने हुन्छ । कोरोनाको कारण मानिसहरु घर भित्र बस्न बाध्य छन् र ती मध्य लाखौं मानिस टीबी रोगका बिरामी छन् साथै करौडौं मानिसहरुलाई त टीबी संक्रमण भएको थाहा पनि छैन ।
“यस्तो अवस्थामा सरकारी तथ्यांकमा टीबी संक्रमितमा ४० प्रतिशत गिरावट देखाइएको छ, यो निकै चिन्ताजनक बन्दै गएको छ” उनि भन्छन्, “जहाँ-जहाँ कोरोना संक्रमण अधिक भएको कारण लकडाउन भएको छ , यस्तो स्थितिमा सरकारको तर्फबाट निशुल्क तीन-तीन महिनाको औषधि उपलब्ध गराउनु पर्दछ र कोरोनाको समयमा उपचार छुटेका बिरामीहरुलाई खोजेर उपचार सुचारु गराउनुपर्दछ ।”