मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – सरकारले नेपालको निजी क्षेत्रलाई विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न आग्रह गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका नव निर्वाचित पदाधिकारीलाई स्वागत गर्ने क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र सचिव दिनेशकुमार घिमिरेले विदेशी सीप प्रविधि र पुँजीको र अनुभवको लाभ स्वदेशी निजी क्षेत्रले पनि ग्रहण गर्न सुझाव दिनुभएको हो ।

यसका लागि नीतिगत रूपमै आवश्यक प्रबन्ध मिलाउने र संरक्षण गर्ने आश्वासन दिनुभयो । मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत् क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्नुभयो ।

उहाँले निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार रहेको दोहो-याउनुभयो । उहाँले तपाईंहरू विद्युत् उत्पादन गर्नूस् । सरकार विद्युत् किन्न र आन्तरिक तथा बाह्य बजारको व्यवस्था गर्न तयार छ भन्नुभयो ।

कोभिड–१९ महामारीका बीचमा पनि जलविद्युत् आयोजना निर्माण सुचारु गर्न मन्त्रालयले सहजीकरण गरेको भन्दै निजी क्षेत्रका अप्ठेरा सम्बोधनमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो । यस्तै कोभिड महामारीकै बीच पनि लगानीकर्ताको मनोबल उच्च राख्न निजी क्षेत्रबाट उत्पादित बिजुलीको भुक्तानी नरोकिएको बताउनुभयो ।

विगतमा लोडसेडिङ अन्त्य गर्ने ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको एक मात्र लक्ष्य रहेकामा अब ऊर्जामा आत्मनिर्भरतासँगै आन्तरिक र बाह्य बजार व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको मन्त्री पुनले बताउनुभयो ।

एक वर्षभित्रै नेपालमा कुल जलविद्युत् क्षमता कम्तीमा २६ सय मेगावाट पुग्ने देखिएको र यसले आफ्ना अगाडि बजारको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती खडा गरेको उल्लेख गर्नुभयो ।

अन्तरदेशीय विद्युत् व्यापारका लागि दुईपक्षीय संयन्त्रमा नियमित छलफल भइरहेको र निजी क्षेत्रबाट उत्पादित विद्युत् सीधै क्षेत्रीय बजारमा बेच्न सक्ने नीतिगत व्यवस्थासमेत सरकारले मिलाएको उहाँको भनाइ थियो ।

सचिव दिनेशकुमार घिमिरेले ठूला आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । घिमिरेले मन्त्रालयको श्वेत पत्रका धेरै काम सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो ।

कार्यक्रममा इप्पानका नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले लगानीकर्ताको सम्मान र संरक्षणमा सरकारको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया