मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – पश्चिम अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बाउबाकर कीताले राजीनामा दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति इब्राहिमले टेलिभिजनमा संदेश दिदै राजीनामाको घोषणा गरेका हुन् ।

मालीमा सैनिक विद्रोह भएपछि राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीहरुलाई बन्धक बनाइएको रिपोर्ट आएको थियो ।

राष्ट्रपतिको राजीनामापछि मालीको संसद समेत भंग भएको छ भने सरकारविहिनको अवस्था बनेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस अघि मालीका प्रधानमन्त्री आर्मीलाई हतियार छोड्न र वार्तामा आउन अपिल गरेका थिए ।

सेनाले उच्च अधिकारीहरुलाई बन्धक बनाएको समाचार बाहिरिएपछि सरकार विरोधी समुह सडकमा उत्रिएर खुशीयाली मनाएको बताइएको छ ।

मालीमा गत मे देखिनै राजनीतिक विवाद बढ्दै आएको थियो । संसदमा खाली रहेका सिटलाई राष्ट्रपतिले आफ्नो पार्टीको नाममा गरेपछि मालीको एक संबैधानिक अदालतले त्यसलाई खारेज गरेपछि विवाद बढेको थियो । यहि निर्वाचन सम्बन्धि विवादका कारण मालीमा पछिल्लो समय प्रदर्शन र हिंसा समेत भइरहेको थियो ।

मालीको पछिल्लो अवस्था बारे संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरु सक्रिय भएको सिएनएनले लेखेको छ ।

मालीमा यस अघि २०१२ मा समेत सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

तपाईको प्रतिक्रिया