मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – कीर्तिपुर आयुर्वेद अस्पतालमा राखिएका कोरोना संक्रमितहरु आयुर्वेदिक औषधिको प्रयोगले सामान्यतया: ८ दिनभित्र निको भएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अनुपमान जोशीले दिएको जानकारी अनुसार सामान्य लक्षण र लक्षण नदेखिएका कोरोनाका बिरामीहरू आयुर्वेदिक औषधिको सेवनले निको भएको हुन्‌।

‘मरिच, पिपला, गुर्जो, तुलसी, असुरगन्धा लगायतबाट बनेको ट्याब्लेट खुवाउने गरिन्छ’, डा. जोशीले, ‘औषधि सेवन गरेका ९२ प्रतिशत बिरामीमा छोटो समयमा नै कोरोना नेगेटिभ देखिएको छ।’ सामान्य घरेलु वस्तुबाट निर्माण गरिएको उक्त औषधि दिनको तीन पटक खुवाउने गरिएपनि यो ट्याब्लेटको नाम भने राखिएको छैन। राष्ट्रिय आयुर्वेदिक अनुसन्धान आयोगसँग आयुर्वेदिक विज्ञहरुले छलफल गरी यो आयुर्वेदिक पद्दति अपनाइएको भएपनि सुरुवाती चरणमा दीर्घरोगी र गर्भवती महिलामा भने यसको प्रयोग नगरिएको उनले बताए।

यो अझै अनुसन्धान प्रकृयामै रहेकोले अन्तिम निचोडमा पुगेपछि सबै उमेरसमुहका दीर्घरोगीलाई दिन सकिने सकिने डा. जोशीले बताए। बिरामीहरू छोटो समयमा नै निको भएकाले आफूहरू उत्साहित बनेको उनले उल्लेख गरे। गएको असार २५ गते २० जना कोरोनाका बिरामी अस्पताल आएका थिए। ती मध्ये २० जना नै निको भएको अस्पतालका संयोजक डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए।

साउन १५ गते १९ जनामध्ये १३ जना र साउन २१ गते २८ जनामध्ये २६ जना निको भएका छन्। आयुर्वेद अस्पतालमा हालसम्म १५३ जना संक्रमितलाई उपचारका लागि राखिएको छ। जसमध्ये १०५ जना पूरुष र महिला ४८ जना रहेको डा. श्रेष्ठले जानकारी दिए।

केहि दिनअघि जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले पनि आयुर्वेदिक औषधिले आफूलाई लागेको कोरोना निको भएको बताएका थिए।

तपाईको प्रतिक्रिया