आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

महामारीबाट बच्न विभिन्न राष्ट्रले गरेका फरक-फरक मोडेलका लक-डाउनको अभ्यासबाट अपेक्षित परिणाम हात नपरेपछि अब पनि लक-डाउनको विकल्प लक-डाउन नहुनेमा द्विविधा रहेन । धेरैजसो मुलुकहरु अब लक-डाउनको वैकल्पिक दिशातिर उन्मुख देखिन्छन् । त्यसोहुँदा अधिकतम सजगता बारे ब्यापक सचेतना फैलाउनु अबको नयाँ कोर्स हुनुपर्दछ । आफु बसेको समाजका हरेक मानिसलाई पाइलैपिच्छे सचेत गराएर कोरोनाबाट बचाउनु चेत भएका हरेक नागरिकको कर्त्तब्य हो । सुन्दर जिन्दगी तपाईको हो, तपाईले अलिकति मात्र सावधानी नअपनाउँदा तपाई लगायत तपाईको परिवार र समाजमा पर्न सक्ने संभावित क्षति र पीडाको महशुस गर्न सक्ने गरी सचेतना फैलाउन जरुरी छ । असुरक्षित आनीबानी, हेलचेक्र्याई र लहलहैका कारण सुन्दर जीवन जोखिममा पर्न सक्ने तथ्यलाई जनस्तरसम्म पुर्‍याउन आवश्यक छ । यो काम विशेषगरी मिडिया क्षेत्र, समाजका जिम्मेवार अगुवा तथा सामाजिक सञ्जालका सचेत प्रयोगकर्ताहरुले सहजै गर्न सक्दछन् । कोरोनाबाट बच्ने र बचाउने काम अब राज्यको मात्र रहेन । प्रत्येक नागरिक सचेत भई आधारभूत मापदण्ड मात्र पालना गर्ने हो भने धेरै हदसम्म संक्रमण फैलनबाट रोकिन्छ ।

हाम्रो नेपाली समाज स्वदेश होस् या विदेश चलिआएका परम्पराका नाममा भोजभतेर, समारोह, नाचगान र जमघटमा सौखिन छ । परिस्थितिवश सिर्जित संवेदनशील समयलाई सहजै स्वीकार्न नसक्ने हाम्रो स्वभाव छ । केही भईहाल्यो कि तुरुन्तै सडकमा हुल बाँधेर निस्कने हाम्रो बानी धैर्य गर्ने खालको छैन । जानअन्जानमा सामाजिक सञ्जालमा रमाइला जमघटका भिडियो लाइभ गरेर अरुलाई समेत हौसाईरहेका हुन्छौं । नियत खराब नहोला, तर यतिबेलाको समय हाम्रो वशमा छैन । अति आवश्यक कार्यहरु बाहेक सकभर घरबाहिर ननिस्कने, जमघटजन्य नियमित बैठक, भेला तथा मनोरञ्जनात्मक कार्यक्रमलाई संकेसम्म भर्च्युअल माध्यमबाट गर्ने, आ-आफ्ना नियमित सरसम्पर्कमा रहेका परिवारका सदस्य, समाज र सर्कलका ब्यक्तिहरुलाई उच्च सतर्कता अपनाउन बारम्बार ध्यानाकर्षण गराउनु आवश्यक छ ।

सूचना र प्रविधिको भरपुर उपयोग गर्दै महामारी विशेष चेतनामुलक कार्यक्रमहरु अपेक्षित हुन सकेका छैनन् । समाजलाई डोर्‍याउने संघसंस्था र तिनका अगुवाहरुको यतातिर पनि ध्यान जानु आवश्यक छ । दैनिक जीवनको अधिकतम समय सामाजिक सञ्जालमा झुम्मिने आजको चञ्चले पुस्ताको यस्ता रचनात्मक बिषयमा पनि ध्यान जान सके समाजमा सकारात्मक ऊर्जा फैलाउन गाह्रो छैन । सामाजिक सञ्जालमा समाजलाई खुराक हुने सन्देश भन्दा पनि कि त, आपसी कुण्ठा र प्रतिशोधनात्मक सन्देश छचल्किएका पाईन्छन् कि त फोकटका औपचारिक सन्देश वा अरु कसैको टेकासोको भरमा आफु स्मार्ट हुने आशयका गन्थनहरु पोखिएका हुन्छन् । बगिरहेको खहरेले धार परिवर्तन गर्न समय लाग्ला तर बेला हुत्तिईसकेपछिको चेतको कुनै तुक छैन । किनभने कुरो काट्न र बाटो काट्न जति सजिलो छ, माटो काट्न धेरै कठीन छ ।

परापूर्वकालमा पितापूर्खा कुनै न कुनै रुपबाट आत्मनिर्भर थिए । घर-घरमा पशुपालन हुनाले दूध-घिउ घरमै उत्पादन हुन्थ्यो । मासु खान कुखुरा, खसीबोका घरमै हुन्थे । खाद्यान्नमा आत्मनिर्भर थिए । यातायात, सूचना प्रविधिका सुबिधा थिएनन् । बाहिरी दुनियाँसँग त्यति धेरै चासो र सम्पर्क थिएन, सीमित स्थानमा रहेर गुजारा चलाईन्थ्यो । त्यो पनि एकप्रकारको लक-डाउन नै थियो । तर फेरिएको समय र बेरिएको जालो जस्तो परनिर्भरताको राँकोले उत्पादनसंग सम्बन्धित गतिबिधि अवरुद्ध हुँदा अर्को महामारी निम्तिने खतरा उत्तिकै छ । यसको विकल्प भनेको हरेक नागरिक स्वतःस्फुर्तरुपमा जोगिएर नियमित रोजगार-ब्यवसायलाई निरन्तरता दिने नै हो । एक तथ्याङ्कअनुसार अमेरिकामा करीव एक प्रतिशत जनताले खेतीपाती गर्छन् र उनीहरुले झण्डै ९९ प्रतिशत मानिसलाई खान पुग्ने खाद्यान्न उत्पादन गर्दछन् । त्यहाँ १ प्रतिशत कृषकको काम प्रभावित हुने हो भने अधिकाँश मानिस समस्यामा पर्छन् । यो स्थिति हरेक देशको हरेक क्षेत्रमा लागू हुन सक्छ ।

त्यसैले सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधि अवरुद्ध हुने गरी काम नरोकौं, अनावश्यक गतिविधि नियन्त्रण गरौं । जीवन बाँचे रमाइला भेटघाट गर्दै गरौंला । बरु सचेतना, सतकर्ताका लागि अभियान सुरु गरौं । माक्स र स्यानिटाइजर निःशुल्क बितरण गरौं, कोरोनाबाट हुने संभावित क्षति र परिवारमा पर्न सक्ने त्यसको चोटबारे अलि बढि नै जोडबल लगाएर प्रचार गरौं । संक्रमणलाई न्यूनीकरण गर्दै जनजीवनलाई सामान्य लयमा फर्काउनुको अब विकल्प रहेन ।***

तपाईको प्रतिक्रिया