Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ । चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन् । शुक्रबारसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन् । अन्य मुलुकमा कोरोनाबाट बढी उमेर समूहका नागरिक प्रभावित भएको बताइरहेका बेला नेपालमा भने युवामा संक्रमण धेरै देखिएको छ ।

युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन् । नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या अरू उमेर समूहको तुलनामा धेरै देखिएको छ । नेपालमा ३९.९ प्रतिशत कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका २३.५ प्रतिशतमा संक्रमण छ । ११ देखि २० वर्ष उमेरका १५.४ प्रतिशत, ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १.५ प्रतिशत तथा ७१ वर्षभन्दा माथिका एक प्रतिशतभन्दा पनि न्यून संक्रमित छन् भने १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ ।

देशभरि कति छन् आईसीयू र भेन्टिलेटर ?
हाल देशभरिमा भेन्टिलेटरमा ३ जनासहित सघन उपचार कक्ष (आइसीयु)मा ६४ जना गम्भीर बिरामी भइ उपचाररत छन् । प्रदेश नम्बर २ मा सबभन्दा धेरै ३२ जना आइसीयुमा छन् भने बाग्मती प्रदेशमा ३ जना भेन्टिलेटर सहित २९ जना आइसीयुमा छन् । प्रदेश नम्बर ५ मा दुई जना र प्रदेश नम्बर १ मा एकजना आइसीयुमा छन् ।

गम्भीर बिरामीको सङ्ख्या बढ्दै जाँदा देशका अस्पतालले थेग्न नसक्ने चिन्तामाझ स्वास्थ्य मन्त्रालयले अहिले करिब १५ सय गम्भीर बिरामीलाई पुग्ने औषधि तथा आईसीयूको सामग्रीको मौज्दात रहेको बताएको छ । ‘प्रयोगशालाका सामग्री दुई महिनाका लागि र पीपीई दुई महिनाका लागि पुग्ने स्टक छ । साथै थप आवश्यक सामग्री खरिदको काम प्रक्रियामा रहेको छ,’ प्रवक्ता डा. गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल देशभरिमा २,६०० सघन उपचार कक्षका शय्या रहेका छन् भने ९०० भेन्टिलेटर रहेका छन् । ‘तीमध्ये कोभिड-१९ का बिरामीका उपचारका लागि २५० आइसीयू शय्या र भेन्टिलेटर थपिएका छन् भने अझै २४० आईसीयू शय्या थप्नका लागि प्रक्रिया अघि बढाइएको छ,’ प्रवक्ता गौतमले भने ।

६ जिल्ला रेड जोनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० साउनसम्मको तथ्यांक अनुसार, ६ जिल्ला कोरोनाभाइरसको उच्च जोखिममा छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले काठमाडौं, पर्सा, रौतहट, महोत्तरी, डोटी र कैलालीलाई ‘रेड जोन’ मा राखेको छ।

मन्त्रालयको २३ साउनसम्मको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ३० रहेकोमा यी ६ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ८४ छ । विश्व स्वास्थ्य संगठनका अनुसार, श्वासप्रश्वास, मुटु, मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरु कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन् ।

तपाईको प्रतिक्रिया