वासिङ्टन – अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड-१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।
खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोना भाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ ।
अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर खोपले पशुको फोक्सोमा कोरोना भाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोना भाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ ।
मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ ।
खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोनाभाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो । उल्लेखनीय कुरा के भने दुबै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो ।
वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन । मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् । एएफपी