टोकियो – जापानको घरपरिवारको खर्चमा अहिलेसम्मकै उच्च कमी आएको छ । कोरोना भाइरसको महामारी फैलिने क्रम रोक्न अपनाइएका उपायहरुका कारण मानिसहरु घरभित्रै बसेपछि घरपरिवार खर्च घटेको छ ।
सरकारी तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा मे महीनामा घरपरिवार खर्च १६ दशमलव २ प्रतिशतले घटेको छ । यो कमी सन् २००१ मा यस्तो खालको डेटा संकलन गर्न थालेयताकै तीव्र हो ।
यस तथ्यांकले विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई महामारीले कस्तो प्रभाव पारेको छ भन्ने स्पष्ट देखाएको छ । समिक्षा अवधिमा होटल, यातायात र बाहिर गएर खाने खानामा खर्च उल्लेख्य रुपमा घटेको तथ्यांकले देखाएको छ ।
मासु, रक्सी र फेस मास्क लगायत वस्तुमा भने खर्च बढेको छ । मे महीनामा देशव्यापी रुपमा लगाइएको आपतकाल हटाइएको भएपनि उपभोक्ताहरुले खुलेर खर्च गर्न हिच्किचाइरहेकोले खर्चमा पुनर्बहाली सुस्त रहने अर्थशास्त्रीहरुको अनुमान छ ।
बेरोजगारी दर बढ्ने अपेक्षा गरिएकोले आगामी महिना पनि घरपरिवार खर्चको परिदृश्य कमजोर नै रहने देखिएको छ । समीक्षा अवधिमा जापानको वास्तविक ज्याला करीब पाँच वर्षयताकै तीव्र दरले घटेको छ ।
यसले श्रम बजारमा महामारीले पारेको प्रभाव छर्लङ्ग पारेको छ । गत वर्षको सोही अवधिको तुलनामा मेमा वास्तविक ज्याला २ दशमलव १ प्रतिशतले घटेको छ । यो सन् २०१५ यताकै तीव्र कमी हो ।
कोरोना भाइरसको महामारीका कारण ओभरटाइम भुक्तानी घटेको छ । यसले गर्दा पनि वास्तविक ज्यालामा उच्च कमी आएको श्रम मन्त्रालयका एक अधिकारीले बताएका छन् । व्यवसायिक गतिविधिको मजबूति मापन गर्ने तत्व ओभरटाइभ भुक्तानी समीक्षा अवधिमा २५ दशमलव ८ प्रतिशतले घटेको छ ।
यो सन् २०१३ को जनवरीमा यस्तो तथ्यांक राख्न थालेयताकै तीव्र कमी हो । ओभरटाइम भुक्तानी योसँगै लगातार नवौं महीना घटेको छ ।
सन् २०२० को पहिलो त्रैमासमा जापानी अर्थतन्त्र मन्दीमा गएको यसै महीनाको शुरुमा सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । अर्थतन्त्र मन्दीमा गएको साढे ४ वर्ष यता यो पहिलो पटक हो । गत वर्षको अन्तिम त्रैमासमा पनि अर्थतन्त्र ७ दशमलव २ प्रतिशतले खुम्चिएको थियो ।
(आर्थिक अभियानबाट)