आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

प्रवासमा रहेर कुनै न कुनैरुपमा आमसञ्चारको क्षेत्रमा क्रियाशील पत्रकारहरुको आ-आफ्नै खालको विशिष्ट अनुभव छन् । विशेषगरी सुरुवाती चरणमा रहर, सोख, पहिचान निर्माण र विगतलाई निरन्तरता वा अरु कुनै कारणले पत्रकारितामा लागेका जो कोही एउटा खास स्टेज पार गरेपछि एउटा गम्भीर मोडमा पुगेर कठोर निर्णय भने गर्नैपर्दछ । अझ जापान जस्तो मुलुकमा ’एकातिरको सिता खाएर अर्कोतिरको गीता गाउन’ त्यति सजिलो छैन । त्यसो हुँदा ब्यवसायिक पत्रकारिताको कुरो त यहाँ धेरै टाढाको बिषय हुने नै भयो । तथापि पत्रकारिता पृष्ठभूमिबाट आएका जो कोही जहाँ गए पनि जुन अवस्थामा भए पनि सुरु-सुरुमा कुनै न कुनैरुपमा उनीहरुले क्रियाशिलता देखाउने गरेको पाईन्छ । यो उनीहरुको वर्गिय चरित्र नै हुनुपर्दछ । तर उनीहरुलाई एकदिन एउटा यस्तो मोडमा उभ्याईदिन्छ कि आफुले गर्दै आएको कर्मलाई निरन्तरता दिन हम्मे-हम्मे पर्दछ । किन कि ’रहरको खेतीबाट ब्यवसायिकताको घैला नभरिने हुँदा’ प्रवासको महंगो गुजारा अन्यत्रको पसिनाबाट केही समय चलेपनि सँधै चल्न संभव छैन । त्यसो हुँदा आफ्नो एउटा निश्चित पेशागत क्षेत्रमा केन्द्रित हुनुपर्ने बाध्यकारी अवस्था सिर्जना भईदिन्छ ।

प्रवासको पत्रकारिता आफैमा अत्यन्त कठिन बिषय हो, यो बालुवा निचोरेर तेल निकाल्नु जस्तै ज्यादै गाह्रो बिषय हो । नेपालीमा एउटा भनाई छ, ’चुरीफुरी र हावाहुरीको आयु निकै छोटो हुनेगर्दछ’ भनिएझैं जो कसैले क्षणिक समय टिक्नका लागि, बिक्नका लागि, देखिन र देखाउनका लागि मात्र गरिएको पत्रकारिताले लामो यात्रा पार गर्न सक्दैन । लामो भिजन, मिशन र गोलसहित ब्यवसायिक ढाँचामा खरो उत्रन सक्नेहरुका लागि मात्र डायस्पोरिक पत्रकारितामा निरन्तरता संभव छ ।

यति हुँदा हुँदै पनि महामारीको कहरका बीच प्रवासमा हामीले गरेको पत्रकारिताबाट नेपाली समुदायमा के कति सुसूचित गर्न सक्यौं वा सकेनौं यो बहसको बिषय हुन सक्छ । यस बीचमा दिनैपर्ने बिषयका महत्वपूर्ण सूचना समयमै दिन नसकेका र नदिंदा पनि हुने बिषयलाई आवश्यक्ता भन्दा बढि गिजोलिएका अवस्था पनि पक्कै रहे होलान् । पाठकको रुचीभन्दा पनि स्वविवेकले आफुलाई ठीक लागेको कन्टेन्टमा बढि खेल्न रुचाउने नेपाली पत्रकारिताको पुरानै रोग हो । उसो त यहाँ अनुगमन, नियमन र पर्यवेक्षण गर्ने न कुनै आधिकारिक एवं नियामक निकाय वा संयन्त्र नै छ । त्यसो हुँदा सबै आ-आफ्नै तालमा बजाईएको डम्फुको लयमा यहाँको पत्रकारिता घिस्रदों छ । तथापि करीव ४, ५ महिना यता विश्वब्यापीरुपमा तिब्र गतिमा फैलिएको कोभिड-१९ को महामारीबाट बच्न र बचाउन सचेतनामुलक सामग्री पस्कने सन्दर्भमा जापानको नेपाली मिडिया बजारले खेलेको भूमिका र क्रियाशीलता के कति सन्तोषजनक रह्यो अहिलेनै समीक्षा गरिहाल्नु हतारो होला, तर बेला आएपछि अवश्य यसको समीक्षा हुने नै छ ।

हाम्रा बारेमा जापानी पत्रकारहरु के भन्छन, यो अर्को रोचक बिषय लाग्छ । उनीहरुका सँधै एउटै कमेन्ट वर्षौंदेखि सुन्दै आएका छौं । उनीहरु भन्छन – जापानमा यति धेरै नेपाली पत्रकारहरुको समाचार लेखेरै गुजारा चलेको छ त ? छैन भने उनीहरु कसरी टिकेका छन् वा गुजारा पनि नचल्ने काम गर्नैपर्ने बाध्यता के होला ? आय आर्जनका लागि अर्थोक नै काम गरेर बचेखुचेको समयमा रहरले गरिने स्वयमसेवी पत्रकारिताले कतिञ्जेल धानिने र के का लागि गर्ने ? यो उनीहरुको सँधै दोहोरिने जिज्ञासा हो । यस सम्बन्धमा उनीहरुको निर्मम सुझाव भनेको कुनै पनि काम ब्यवसायिक (सिगोतो) हुन सक्दैन भने त्यसमा समय खर्चिनुभन्दा परिणाममुखी अन्य उपयुक्त क्षेत्रमा खर्चिनु उत्तम हुन्छ । फुर्सदको समयमा त्यो पनि रहरले गरिने पत्रकारिता कति तथ्यपरक, कति सत्यको नजिक, कति निखारपन र कति पब्लिक चासो समेट्न सक्ला यो अर्को ज्यादै संवेदनशील बिषय भएको उनीहरुको दावी छ । त्यसैले हामीले गर्दैआएको पत्रकारितामा कुनै खोट छैन भनेर सन्तोष मान्ने भन्दा पनि यसलाई अझ विश्वसनीय, ब्यवसायिक र सम्मानित बनाउने दिशामा हाम्रो ध्यान केन्द्रीत हुनु जरुरी छ ।***

तपाईको प्रतिक्रिया