काठमाडौं – व्यावसायीहरुलाई लकडाउन नखुल्दै कसरी कर तिर्ने भन्ने चिन्ताले सताइरहेका बेला सर्वोच्च अदालतले राहत मिल्ने आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन पूर्णरुपले खुलेको ३० दिनभित्र कर बुझाउन सकिने व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले बिहीबार बन्दाबन्दी पूर्णरुपमा खुलेपछि ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाई दिन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आदेश दिएको हो ।
‘नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्णरुपमा खुलेपश्चात बाटोको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘बन्दाबन्दी पश्चात पनि केही अवधिसम्म सामाजिक दूरीलगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नु पर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजश्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू ।’
लकडाउनपछि पनि केही अवधिसम्म सामाजिक दूरी कायम गर्नुपर्नेलगायत कोरोना महामारीविरुद्ध अपनाइने सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने अवस्थामा परिस्थिति विचार गरी विवरण र कर दाखिल गर्ने प्रक्रिया सरलीकृत गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चले लकडाउन खुलेपछि पनि नयाँ परिस्थिति सिर्जना भई देशभर वा कुनै क्षेत्रमा प्रतिकूल अवस्था सिर्जना भई करदाताले पेशा, रोजगारी, उद्योग, व्यापार सञ्चालनमा कठिनाई देखिएमा कर तिर्ने अवधि न्यायोचित तवरले पुनरावलोकन गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
‘बन्दाबन्दी पूर्णरुपमा खुले पश्चात पुनः नयाँ परिस्थिति सिर्जना भई देशभर वा कुनै खास क्षेत्रमा प्रतिकूल अवस्था देखिएको कारण करदाताहरुले आ–आफ्नो पेसा, रोजगार, उद्योग व्यापार तथा व्यवसाया सञ्चालनमा कठिनाइ देखिन आएमा न्यायोचित तवरले उपरोक्त बमोजिमको अवधिहरु पुनरावलोकन गरी नयाँ समायवधि तोक्नतर्फ आवश्यक व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।
सरकारले लकडाउनकै अवधिमा पनि जेठ २५ गतेसम्म आफ्नो कर बुझाउन सम्बन्धित व्यवसायीहरुलाई सूचना जारी गरेको थियो । उक्त सूचनाको व्यापक विरोध भएपछि सरकारले असार ७ र १५ गतेसम्म कर तिर्न समयावधि तोकेको थियो ।