काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको हो।
गत वर्ष तनहुँ विद्युत् आयोजनाको हेडवक्र्सको ठेक्का पाउँदा इटालियन कम्पनी सीएमसीले इटाली बैंकको जमानीमा इन्भेस्टमेन्ट बैंकमा २ अर्ब बराबरको कार्यसम्पादन जमानत राखेको थियो ।
सीएमसीले सर्तअनुसार काम नगरेपछि तनहुँ जलविद्युत् आयोजनाले ठेक्का रद्द गर्दै कार्यसम्पादन जमानतबापतको रकम लिएको थियो ।
इटालीको इन्टेसा सान पाओलो बैंकको अनुरोधमा इन्भेस्टमेन्ट बैंकले सीएमसीलाई बैंक ग्यारेन्टी दिएको थियो । ठेक्काका लागि इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरोको कार्यसम्पादन जमानत जारी गराएको थियो ।
सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो।
कोभिड-१९ का कारण मुद्दाको फैसला ढिलाइ भइरहेको थियो। अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले धेरै मिहिनेतपछि मुद्दाको फैसला आफूहरूको पक्षमा आएको बताए ।
ग्यारेन्टी वापतको पैसा डुबेपछि इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकको प्रावधान अनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो। अब बैंकलाई यो दबाब हुने छैन।
उनले यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको समेत बताए।