Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

दोस्रो विश्वयुद्धमा क्षतविक्षत भएको जापान करीव आधा शताब्दीमै जुर्मुराएर विश्वको अग्रपंत्तिमा उभिन सफल भयो । त्यसपछि बेलाबखतका प्राकृतिक बिपत्तिबाट भएका क्षतिलाई पनि जापानले बुद्धिमत्तापूर्ण ढंगले ब्यवस्थापन गरी जनजीवनलाई सामान्यीकरण गर्नुका साथै भौतिक संरचनाको पुननिर्माणमा देखाएको कौशलता लोभलाग्दो छ । सन् २०११ को डरलाग्दो महाभूकम्प र सुनामीले थिलोथिलो बनाएको जापानका थुप्रै भूभागका भौतिक संरचनाले केही वर्षमै पहिलेको भन्दा धेरै गुणा सुन्दर आकार ग्रहण गरिसकेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोभिड-१९ लाई जापानीहरुले सुरुमा त त्यति गम्भीरतापूर्वक लिएको देखिएन । मानौ उनीहरु यति धेरै सुसज्जित छन् कि, उनीहरुलाई कोरोना भाइरसले छुन सक्दैन, अर्थात छोएपनि कुनै लछारपाटो लाउँदैन । संभवत यहि मनोविज्ञानले जापान सरकारमा बस्नेहरुलाई पनि गाँजेको थियो । जब डायमण्ड प्रिन्सेस नामको पानी जहाज योकोहामा बन्दरगाहमा अवतरण भएसंगै त्यसमा सवार सयौंका संख्यामा संक्रमित भेटिएपछि जापान अत्तालिन थालेको देखिन्छ । त्यसपछि भने कोभिड-१९ नियन्त्रणमा ध्यान दिन नसकेको भन्दै सडकदेखि सदनसम्म जापानी प्रधानमन्त्री शिन्जो आबेको आलोचना सुरु भयो । आलोचना सुरु भएसंगै प्रधानमन्त्री आबेले महामारी नियन्त्रणका लागि विज्ञहरु सम्मिलित अधिकारसम्पन्न उच्चस्तरिय विशेष आयोग गठन गर्नुका साथै, विशेष राहतका लागि भन्दै एकपछि अर्को पूरक बजेट विनियोजन गरे । यसका साथै उनले एकपछि अर्को गर्दै राहतका प्याकेजहरु घोषणा गर्न थाले । कतिपय उनका घोषणा अपरिपक्व साबित भए पनि कतिपय घोषणाले उनलाई जापानी जनताबीच निकै लोकप्रिय बनाईदियो । कोरोना महामारीका कारण उत्पन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न सुरुमा प्रति घरपरिवारलाई ३ लाख येन दिने भनि गरिएको घोषणा पछि संशोधन भई प्रतिब्यक्ति १ लाख येन राहतस्वरुप प्रदान गर्ने, विद्यालय बन्द गर्ने, विद्यालय बिदा भई बालबच्चा घरमै बस्नुपरेपछि काममा जान नपाएका अभिभावकका लागि अनुदान दिने, घरघरमा मास्क पठाईदिने जस्ता सिधा जनतासंग सरोकार राख्ने लोकप्रिय कार्यक्रमहरुले प्रधानमन्त्री आबे जनतामाझ स्थापित भए ।
यसका साथै महामारीका समयमा ब्यवसाय र रोजगारीलाई जसरी भएपनि जोगाई राख्नुपर्छ भन्ने उद्देश्यले साना तथा मझौला ब्यवसायीहरुलाई राहत तथा अनुदानको ब्यवस्था गरे । जसअनुसार प्रति कम्पनी २० लाख येन र ब्यक्तिगत ब्यवसाय भए १० लाख येन अर्को राहत प्याकेज वितरण सुरु गरे । यसका साथै सरकारको आपतकालिन घोषणालाई सहकार्य गरेबापत भन्दै ब्यवसायीलाई ५ लाखदेखि १० लाख येन सम्मको अर्को प्याकेज उपलब्ध गराईयो । कोरोना महामारीका कारण ब्यवसाय धरापमा परेको भन्दै कम्तीमा ६ महिनाका लागि ब्यवसायिक घरभाडाको दुईतिहाई रकम अनुदान उपलब्ध गराउने अर्को घोषणा कार्यान्वयनको चरणमा छ भने जापान सरकारले साना तथा मझौला ब्यवसायीहरुलाई विभिन्न शीर्षकमा बिना धितो सहुलियत कर्जा उपलब्ध गराईरहेको छ । कतिपय कर्जा १० देखि २० वर्षसम्मका छन् भने कतिपय बिना ब्याजका पनि रहेका छन् कतिपय कर्जामा ब्याज स्थानीय तथा प्रान्तिय सरकारले ब्यहोरिदिने खालका पनि छन् । स्थानीय सरकार, प्रान्तिय सरकार र केन्द्रीय सरकार गरी तीनै तहका सरकार कोरोना महामारीको महासंकटमा यसपटक प्रत्यक्ष जनतासंग जोडिएको देखियो । यसबाट के बुझिन्छ भने जापानको हरेक क्षेत्र सिष्टमबाट चलेको त छँदैछ यहाँ नागरिक तहदेखि सरकार बीचको संरचना (मेकानिज्म) टप टु बटम नभएर बटम टु टप देखिन्छ, त्यसकारण पनि जापानीहरुमा उग्रता, उच्छवास, उत्ताउलोपना, भिडभाड, खल्लीबल्ली, विद्रोही भावना, भ्रामक चर्चा, भद्दा मजाक र भद्दा प्रदर्शन पटक्कै देखिदैंन । बरु उनीहरु त यति सँस्कारी लाग्छन् कि समुद्रजस्तै सदाबहार शालिन र शान्त देखिन्छन् । बिरोध नै गर्नुपरे पनि मुस्कान भरिएको अनुहारले गरेको पाईन्छ ।
कोरोनाको कहरमा जापानको केन्द्रीय सरकारले प्रान्तिय सरकारका गभर्नर (मुख्यमन्त्री) हरुलाई सक्रिय बनाउँदै सम्बन्धित भूगोलको वस्तुस्थिति आंकलन गरी आपतकालिन स्थिति लागू गर्ने वा खुकुलो पार्ने नीति अवलम्बन गर्ने गरेको पाईन्छ । जसअनुसार अघिल्लो सातादेखि जापानका सबै प्रान्तहरुमा आपतकालिन अवस्था हटाईएको छ, तथापि राजधानी टोकियोमा संक्रमितको संख्या अपेक्षित घट्दो क्रममा छैन । जनता समस्यामा पर्दा सरकारको दह्रो उपस्थिति रहने गरेको जापानमा यसपटक अझ नजिकबाट अनुभव गर्न पाइयो, जुन हाम्रो जस्तो मुलुकका लागि असाध्यै अनुकरणीय छ । वर्षौदेखि विभिन्न शीर्षकमा चुपचाप जति भन्यो त्यति कर तिर्दै आएका विदेशी ब्यवसायीहरु पनि अहिले आवे सरकारप्रति नतमस्तक देखिन्छन् । हुन त सरकारले उपलब्ध गराएको सांकेतिक राहत प्याकेजले सँधैको गर्जो टर्ने नभए पनि समयमै गरिएको जनताको सम्बोधन र त्यसले पार्ने सकारात्मक प्रभाव एवं त्यसबाट उत्पन्न हुने ऊर्जाले धेरै ठूलो महत्व राख्ने गर्दछ । जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएर रेकर्ड राख्न सफल प्रधानमन्त्री आबे कोभिड-१९ को महामारीमा पनि जनताको मन जित्न सफल देखिन्छन् भलै कोभिड-१९ नियन्त्रणमा आउन भने बाँकी नै छ ।***

तपाईको प्रतिक्रिया