आज भन्दा धेरै वर्ष पहिले नेपालमा ‘व्याचलर फस्ट इयर’ पढ्ने बेलामा १ हप्ता जति हस्पिटल भर्ना भएको थिए । हस्पिटल छिर्ने बित्तिकै औषधी गन्हाउने, ट्वाईलेट नजिक पुगेपछि ट्वाईलेट गन्हाउने, १ जना बिरामी कुरूवा बस्नु पर्ने, औषधी आफैले किनेर ल्याउनु पर्ने आदि समस्याहरू भोगेको थिए ।
अझ सुनेको थिए कि बिरामीलाई ब्लड चाहिने अवस्था भएमा त्यो पनि आफैले व्यवस्था गर्नु पर्ने । गाउँबाट सिधै सहर बजार आएर औषत्रि उपचार गर्नुपर्नेहरूलाई पैसाको समस्या त हुने नै भयो, अन्य समस्या कसरी झेल्छन् होला जस्तो लाग्दथ्यो । ‘परे पछि टर्छ’ भन्ने हाम्रो नेपाली उखान पनि छ । तर पनि कति दुःख पाईन्छ भनेर अडकल काट्न भने सकिन्छ ।
(जो व्यक्ति धेरै हस्पिटल धाईरहेको छ । उसैको अगाडि अर्को व्यक्ति आएर ‘मलाई त हस्पिटल जानै मन लाग्दैन’ भनेर भनिदिन्छन् । कोही पनि रहरले बिरामी भएका हुदैनन् र रहरले हस्पिटल गएका पनि हुदैनन् । हस्पिटलमा काम गर्ने डाक्टर, नर्स तथा अन्य कर्मचारी मात्र रहरले जान्छन् । त्यो भन्दा बाहेकका त सबै बाध्यताले नै जाने हो ।)
मैले पनि जापानमा लामो समयदेखि हस्पिटलको सेवा लिईरहेको छु । हस्पिटलमा आफ्नाहरूले भन्दा पनि बढी आत्मियता देखाउने गर्दछन् । हस्पिटलमा पालो कुरेर बसेको बेलामा डक्टर र नर्स बाहेकका अन्य कर्मचारीहरूले पनि कसैलाई अलि गाह्रो भएको देख्यो भने ‘ठिक छ ?’ भनेर सोध्न आई पुग्छन् । जसले गर्दा एक्लैले पनि उपचार गर्ने आँट आउँछ । सुरुको बेलामा सामान्य भाषा आएपनि हस्पिटलको भाषा त्यति नजानेर समस्यामा परेको थिए । पछि बिस्तारै बानी पर्दै जाने रहेछ । हुन पनि किन नहोस्, जुन कुरा जान्नलाई डक्टर- नर्सले कति वर्ष मेहनत गरेर पढेका हुन्छन् । हामी सामान्य मान्छेले एकै पटकमा बुझ्न सक्ने कुरै भएन । जुनसुकै पेसाको पनि आफ्नो भाषा हुन्छ जस्तो लाग्दछ । जसलाई सामान्य मान्छेहरूले भाषा आए पनि एकै पटकमा सजिलै बुझ्न सकिदैन । सामान्य उपचारमा खासै अन्य कुरामा चासो नदेखाए पनि, ठूलो उपचार गर्नु पर्ने भयो भने ‘हामीलाई आर्थिक तथा अन्य केहि समस्या छ कि छैन भनेर हस्पिटलले चासो दिने गर्दछन् ।
साथै सकेसम्म हामीलाई सहयोग हुने खालको उपायहरू पनि बताईदिने गर्दछन् । यस्तो कुरा डक्टर स्वयमलाई थाहा नभएको बेलामा सोसियल वर्करको ठाउँमा गएर बुझ्नु, त्यहाँबाट केहि जानकारी पाउन सकिन्छ भनेर जानकारी पनि गर्ने गरिन्छ । नेपालमा भए पहिला ‘डिपोजिट’, त्यसपछि उपचार हुन्थ्यो भने जापानमा पहिला उपचार, त्यसपछि डिस्चार्ज भएको बेलामा पैसा तिरे हुन्छ । यसको लागी एउटा सर्त चाँहि निभाउनु पर्ने हुन्छ । त्यो हो, जापानको इन्स्योरेन्समा भने प्रवेश गरेको हुनु पर्दछ । यहाँ हरेक व्यक्तिले अनिवार्य इन्स्योरेन्समा प्रवेश गर्नु पर्ने हुन्छ । चाहे त्यो जापनीज होस् या विदेशी ।
छोटो समयको लागि आउने विदेशी जोसँग यहाँको रेसिडेन्ट कार्ड हुदैन, उनीहरूले चाहेर पनि यो सेवा लिन पाउँदैन । तर अन्य बसोबास गर्ने व्यक्ति जसले यहाँ को रेसिडेन्ट कार्ड प्राप्त गरेका छन् । उनीहरूले नचाहेर पनि अनिवार्य रूपमा यो सेवा लिनु पर्ने हुन्छ । अहिले म बिरामी हुदिन, मलाई यो सेवा चाहिएको छैन भनेर बेवास्ता गरी इन्स्योरेन्सको पैसा तिर्नु भएन भने तपाईको खाताबाट पैसा काट्ने अधिकार पनि छ यहाँको इन्स्योरेन्स कम्पनिलाई । इन्स्योरेन्सको पैसा नतिर्दा तपाईलाई नयाँ इन्स्योरेन्स कार्ड नपठाउन पनि सक्छ ।
तपाई फेरी प्रवेश गर्न चाहेर जानु भयो भने पहिला नतिरेको भाग समेत तिर्न लगाएर मात्र नयाँ इन्स्योरेन्स कार्ड दिने गर्छन । कार्ड नभएर हस्पिटल जानु पर्ने अवस्थामा नगई बस्नु भएको पनि हुन सक्छ । सामान्य रूघाखोकी लागेर इन्स्योरेन्स कार्ड नभएकोले चेक गराउन जान सक्नुहुन्न । त्यस्तो स्थितीमा ड्रगस्टोर बाट औषधी किनेर खानुहुन्छ । जुन हस्पिटल वा क्लिनिक गएर डाक्टरलाई देखाएर औषधि किन्दाको भन्दा पनि बढि खर्च लाग्दछ । साथै आफैले किनेर खाएको औषधिले राम्रोसँग निको नभई रूघाखोकी बिग्रने सम्भावना पनि हुन्छ । जसले गर्दा ठूलो रोग निम्त्याउने सम्भावना धेरै हुन्छ ।
कतिपयहरूले बेलैमा इन्स्योरेन्सको रकम नतिरेर पछि बढ्दै जान्छ र तिर्न नसक्ने अवस्था सम्म आईपर्दछ । यस्तो बेलामा अकस्मात बिरामी परेर उपचार गराउनु पर्यो भने उपचार खर्च धेरै नै लाग्ने गर्दछ । हस्पिटलबाट पनि उपचार खर्च तिर्न सक्दैनन् कि भनेर बिरामीलाई हेराना अनकनाउन सक्छन् । जापनिज भाषा नआउने , त्यसमाथि इन्स्योरेन्स कार्ड पनि छैन भने निकै गाह्रो हुन्छ उपचार गराउनलाई । इन्स्योरेन्स कार्ड नभएका र भाषाको समस्या भएका हरू यहाँ चेकअप मात्र गराएर उपचार गर्नको लागी नेपाल जानु हुन्छ । परिवारको साथ पनि हुने र यहाँ भन्दा सस्तो पर्ने भनेर उपचार गर्न नेपाल जानेहरू पनि हुनुहुन्छ । जानु पर्ने बेलामा उपचार गरेर आउदा भन्न सक्दिन तर उपचार गराउनकै लागी जाने हो भने आउने जाने खर्च र इन्स्योरेन्स बिनाको उपचारलाई जोड्दा यहाँ नै सस्तो पर्छ झै लाग्दछ ।
इन्स्योरेन्स भनेको भैपरी आउँदा काम लाग्ने सेवा हो । भैपरी आउने कुरा हाम्रो बस भन्दा बाहिरको पनि हुन सक्दछ । यो कुन बेला, कसलाई, कसरी आउछ भन्ने केही ठेगान हुदैन । त्यसैले आज म स्वास्थ्य छु, हठ्ठाकठ्ठा छु, निरोगी भईरहन्छु भन्ने अस्वाभाविक कुरामा हठ गरेर इन्स्योरेन्सको पैसा लाई नचाहिदो खर्च भनेर बेवास्था गर्नु भनेको मूर्खता हो । चुरोट रक्सीमा प्रत्येक महिना कति खर्च उडाएको हुन्छ । बर्थडे पार्टी होस् वा अन्य समारोहमा सामेल हुँदा गिफ्ट तथा टिकट किन्न हैसियत हुनेहरू पनि आफ्नै स्वास्थ्यसँग सम्बन्धित इन्स्योरेन्सको पैसा तिर्न लाई पैसा हुदैन । अझै भनौ कन्जुस्याई गर्दछन् ।
कतिले जानाजानी हेलचेक्र्याई गर्ने गर्दछन् त कतिले यहाँको नियम थाहा नभएर आफ्नो इन्स्योरेन्स कार्ड अरूलाई प्रयोग गर्न दिने गर्दछन् । सजिलो भाषामा भन्नु पर्दा ‘अर्काको लाईसेन्सले गाडी चलाए’ जस्तै अरूलाई आफ्नो इन्स्योरेन्स कार्ड प्रयोग गर्न दिनु र अर्काको इन्स्योरेन्स कार्ड प्रयोग गर्नु पनि कानूनी अपराध भित्र पर्दछन् । कार्डमा फोटो हुदैन भनेर अरूलाई बेबकुफ बनाउन खोज्दा कति बेला आफै नराम्ररी कानूनी फन्दामा फसिन्छ थाहा हुदैन । अर्काको कार्ड प्रयोग गर्ने बेलामा ‘नाम मिस्टेक हुन सक्छ, जन्ममिति मिस्टेक हुन सक्छ । अझै दुवै व्यक्तिले एउटै हस्पिटल वा क्लिनिकमा जचाउन जानु पर्ने स्थिति पनि आउन सक्दछ । धेरै आधारहरू छन् तपाईले सक्कली कार्ड प्रयोग गर्नु भएको छ कि नक्कली कार्ड भनेर ।
यदि एक पटक तपाई शंकाको घेरामा पर्नु भयो भने हस्पिटल वा क्लिनिकले प्रहरीमा खबर गरिदिन्छन् । प्रहरीले सुरूमा तपाईलाई कार्ड दिने व्यक्तिलाई सोधपुछ गर्न सक्दछ । त्यसैले यो कुरामा दिनेले नै सावधान हुनुहोला । कसैको लागी सानो सहयोग भनेर दिदा आफै झमेलामा पर्नु हुन्छ । यदि तपाईलाई ठूलो उपचार गर्नु पर्यो र तपाईले इन्स्योरेन्सको पैसा रेगुलर तिरिरहनु भएको छ भने अर्को एक वटा सुविधा पनि लिन पालनपुर हुन्छ । जसलाई 限度額適用認定証( Gendo-Gaku Tekiyou Nintei-shou) भनिन्छ ।
यो पेपर लिनलाई स्याखाई होकेन र कोकुमिन होकेनको छुट्टा छुट्टै ठाँऊ हुन्छ । स्याखाई होकेन हुनेहरूले आफ्नो अफिसमा कुरा गरेर पनि बुझ्न सकिन्छ भने कार्डमा भएको ठेगानामा पनि बुझ्न सकिन्छ कसरी यो पेपर लिन सकिन्छ भनेर । कोकुमिन होकेन हुनेहरूले आफू बसेको City Office (कुयाकुस्यो , सियाकुस्यो)मा गएर जानकारी लिन सकिन्छ । इन्स्योरेन्स कार्डले ३०५ मात्र तिरे हुन्छ भने यो कार्ड पनि बनाउनु भयो भने तपाईको कमाई अनुसारले महिनामा सिमित रकम मात्र तिर्नु पर्दछ । ठूलो र लामो समय उपचार गर्नु पर्दा ३०५ ले पनि १ महिनामा तिर्नु पर्ने रकम धेरै हुन्छ । यदि लामो समय जापान बस्ने सोचमा हुनुहुन्छ भने तिर्ने कुरामा कन्जुस्याई नगरौं । साथै पाउने सुबिधा बाट पनि बन्चीत हुनु नपरोस् ।
अन्त्यमा, अहिले कति हस्पिटल तथा क्लिनिकहरूमा नेपाली भाषा अनुवादकहरू पनि हुनुहुन्छ । भाषाको समस्या हुनेहरूले बेलामा भाषा अनुवादक भएको हस्पिटल तथा क्लिनिकको लिएर राख्नु भयो भने तुरून्त उपचार गराउन सक्नु हुन्छ । आफ्नो समय र साथमा गईदिने (भाषा अनुवादक)को समय मिलाउदा मिलाउदै उपचार गराउन ढिला पनि हुन सक्छ । भाषा नजान्नेलाई उपचार गर्न जादा हस्पिटल तथा क्लिनिकले भाषाको समस्याले लिन नमान्ने कुरा पनि सुन्दै आएको छु । भाषा अनुवादक भएको ठाँऊमा जानु भयो भने अर्को हस्पिटल तथा क्लिनिकमा रिफर गर्नु पर्ने भयो भने पनि तपाईलाई सजिलो हुने ठाँऊ बुझेर मात्र रिफर गरिदिन सक्छ ।