मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो– जापानमा कोरोना भाइरसका संक्रमितहरुको शुद्ध र एकिन तथ्यांक निकाल्न समस्या भइरहेको छ । माइनिची सिन्बुनमा प्रकाशित एक समाचार अनुसार संक्रमितहरुको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणमा कोरोनाको संक्रमण सकारात्मक देखाएका व्यक्तिहरुको अनुपातसम्बन्धी शुद्ध तथ्यांक निकाल्नै जापान सरकारलाई गाह्रो भइरहेको छ ।

हाल जापानका धेरै स्थानहरुमा विभिन्न संस्थाहरुले पीसीआर परीक्षण गरिरहेका छन् । यिनीहरुको नतिजा पनि फरक फरक दिनमा भिन्ना भिन्नै समयमा आउँदा सरकारलाई एकिन तथ्यांक राख्न समस्या परेको हो ।

पीसीआर परीक्षण गर्नेमा राष्ट्रिय, क्षेत्रीय र निजी संस्था गरी २ वर्गका छन भने स्वास्थ्य मन्त्रालयले हरेक दिन नतिजा उपलब्ध भएपछि सबै डेटा संकलन गरिरहेको छ । हालसम्म भएका परीक्षण र संक्रमित व्यक्तिहरुको देशव्यापी तथ्यांक राख्ने कुनै एकिकृत प्रणाली नभएको बताइएको छ तर संक्रमित दर निकाल्न यो प्रणाली आवश्यक छ ।

परिक्षण गरेका संस्थाहरुले निर्धारित जनस्वास्थ्य केन्द्रमा संक्रमितको दैनिक तथ्यांक बुझाइरहेका छन् । यी केन्द्रहरुले आफूसँग भएको जानकारी प्रिफेक्चर वा प्रमुख शहरहरुमा बुझाउँछन् । त्यसपछि मात्रै स्थानीय सरकारले त्यो दिनको संक्रमित संख्या घोषणा गर्छ ।

स्थानीय सरकारहरुले पेश गरेको र घोषणा गरेका तथ्यांकलाई संकलन गरेर मन्त्रालयले हरेक साँझ एउटा प्रतिवेदन निकाल्छ । यसमा अघिल्लो दिन हरेक प्रिफेक्चरमा कति जनामा संक्रमण देखियो भन्ने तथ्यांक दिइएको हुन्छ ।

मन्त्रालयले सबै प्रिफेक्चरहरुलाई दैनिक संक्रमित संख्यासम्बन्धी तथ्यांक बुझाउन भनेको छ । तर करीब १२ प्रिफेक्चरले भने सो आग्रह नमानेको समाचारमा उल्लेख छ ।

मन्त्रालयले ती १२ प्रिफेक्चरका वेबसाइटमा सार्वजनिक गरिएका तथ्यांककै आधारमा आफ्नो तथ्यांक संकलन गरिरहेको छ । यस्तो हुँदा स्वास्थ्य मन्त्रालयसँग पीसीआर परीक्षण र तीमध्ये संक्रमितको एकमुष्ठ तथ्यांकका आधारमा अस्थायी तथ्यांक मात्र छ ।

यी जानकारीहरु २–४ दिन पुराना हुने भएकोले मन्त्रालयले हरेक दिनको संक्रमित दर सार्वजनिक गर्न सकेको छैन ।

पीसीआर परीक्षण र यसको नतिजा आउने दिन फरक फरक भएकोले समस्या उत्पन्न भएको हो । अर्को समस्या चाँहि अस्पतालबाट डिस्चार्ज हुनु पूर्व एउटै व्यक्तिको एक पटक भन्दा धेरै परीक्षण हुनु हो ।

यी समस्याहरु समाधान गर्न केन्द्र सरकार र स्थानीय निकायहरुले एक अर्कासँग अझ राम्रो सहकार्य गर्नुको साथै समान मापदण्ड अपनाउन जरुरी देखिएको विज्ञहरुको धारणा छ । ***

तपाईको प्रतिक्रिया