सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो–जापानमा कोरोना भाइरसंगको दीर्घकालिन लडाईका लागि जीबनशैलीमा परिवर्तन गर्न आग्रह गरिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक उपायहरु खुकुलो बनाएको भएपनि स्थानीय बासिन्दाहरुलाई सरकारले ‘नयाँ जीवनशैली’ कायम गर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको महामारीले लामो समयसम्म प्रभाव पार्नेमा आबे र अन्य राजनीतिज्ञहरुले जोड दिँदै आएका छन् । तर महामारीले आगामी दिनमा आम जनजीवनलाई कस्तो आकार दिन्छ भन्नेबारे सरकारले स्पष्ट उदाहरण दिएको भने यो नै पहिलो पटक हो ।

सामाजिक गतिविधि सुचारु भएपछि पनि लामो समयसम्म कोभिड–१९ रहने र दोस्रो चरणको संक्रमणको जोखिम महिनौंसम्म रहने चिन्ता गर्न थालिएको छ । स्थायी रुपमा कोरोना भाइरस घटाउन शपिङ र काममा जाने तरिका, सार्वजनिक यातायातका साधन प्रयोग, खानपान, विवाह र अन्य उत्सवहरु जस्ता गतिविधिमा हेरफेर ल्याउन सरकारले सुझाएको छ । मास्क लगाउन, एक अर्कासँग २ मिटरको दूरीमा बस्न, साबनपानीले बारम्बार हात धुन, घर फर्किने बित्तिकै लूगा फेर्न, कार्यास्थलमा नगइकन टाढाबाटै काम गर्न र भिडभाड धेरै हुने समयमा सार्वजनिक यातायातका साधन प्रयोग नगर्न सुझाव यस अघि नै दिइएको छ ।

पछिल्लो समय भने सार्वजनिक यातायातका साधनमा एक अर्कासँग सकेसम्म नबोल्न, खानेकुरा खाने बेलामा आमुन्ने सामुन्ने नबस्न र घरमै व्यायाम गर्ने लगायत विविध उपायहरु अपनाउन भनिएको छ । यी सबै कुरा नौलो नभएपनि सरकारले नयाँ जीवनशैली औंल्याउने लय भने फेरिएको छ ।

केन्द्र र नगर सरकारले लागू गरेका अनुरोध र उपायहरु स्वेच्छिक हुन् । यी अनुरोध र उपायहरु उल्लंघन गर्ने व्यक्ति वा व्यवसायलाई कुनै कानूनी दण्ड सजायको व्यवस्था भने छैन । सरकारले समस्याबाट गुज्रिरहेका घर परिवारका साथै अस्थायी रुपमा बन्द गर्ने वा सञ्चालनको समय घटाउने आग्रह मान्ने व्यवसायहरुलाई टेवा दिन अतिरिक्त वित्तीय सहायता ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न पनि टड्कारो छ ।

सोमबारदेखि सरकारले आपतकालको अवधि लम्ब्याएर मे ३१ सम्म पुर्याएको छ । ***

तपाईको प्रतिक्रिया