सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या निरन्तर घटिरहेको छ । मंगलबार जापानभरमा १ सय २० नयाँ संक्रमितहरु देखिए जुन अप्रिलदेखि यता एकदिनभित्र देखिएको सबैभन्दा कम तथ्यांक हो । मंगलबार जापानभरमा संक्रमितहरुको संख्या १६ हजार कटेको छ भने १० जनाको मृत्यु भएको छ । जापानभरमा मृत्यु हुनेको संख्या ५ सय ७९ पुगेको छ ।

मंगलबार नै टोकियोमा ५८ जना नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्, विगत केही दिनदेखि संक्रमितहरुको संख्या १ सयभन्दा कम छ ।

टोकियोमा हालसम्म ४ हजार ७ सय १० जना संक्रमितहरु पुगेका छन् जुन जापानभरका ४७ प्रिफेक्चरहरुमध्ये सबैभन्दा धेरै संख्या हो ।

अप्रिल ७ तारिक जारी गरिएको आपतकाल १६ तारिक देशैभर लागू गरिएकोमा यसलाई यही सोमबारदेखि मे ३१ तारिकसम्मका लागि लम्ब्याइएको छ । आपतकाल आज अर्थात मे ६ तारिक सकिने तय गरिएको थियो ।

आपतकालको अवधिभर संक्रमितहरुको संख्या घटेपनि सरकारले अपेक्षा गरेको तहमा नआइपुगेकाले आपतकालको अवधि बढाइएको हो ।

मंगलबार टोकियोमा ५८ जना, ओसाकामा ७ जना, खानागावामा १४ जना, साइतामा ६ जना, होक्काइदोमा ११ जना, चिबामा १ जना, ह्योगोमा ६ जना र अन्य प्रिफेक्चरहरुमा गरि १ सय २० जनामा नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ३ सय ६० सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।***

तपाईको प्रतिक्रिया