Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

केही वर्ष अगाडि  लेखेर राखेकी थिंए । अलि नमिलेको जस्तो लागेर त्यतिकै अपुरो छाडेर राखेको पनि बिर्सिसकेको रहेछ । केहि दिन अगाडि एकजना दाइले यस्तै सम्बन्धी स्टाटस फेसबुकमा राखेको देखेर मोबाइलमा खोज्दा भेट्टाए यो लेख । अधुरो छाडेको यो लेखलाई पूर्णता दिने कोशिस गरेकी छु ।

२०१३ साल तिरबाट जापानमा नेपालीको संख्या क्रमशः बढिरहेको छ । विद्यार्थीका रूपमा आउनेहरू त छन् नै, विद्यार्थीका साथसाथै डिपेन्डेण्ट भिसामा आउनेहरू पनि बढिरहेका छन् । विजनेश भिसा, कुक भिसा, विद्यार्थी भिसा, जापानमा पढेर वर्किङमा परिवर्तन गरेका भिसाका साथै अन्य केहि भिसा बाहकले पनि आफ्ना श्रीमान-श्रीमती र छोरा-छोरी (स्कूल लेभल पढ्दै गरेका) हरूलाई डिपेन्डेण्ट भिसामा बोलाउन पाउने जापानको नियम छ ।

जापानमा बसोबास गर्नका लागि जापानी भाषा जान्नु अत्यावश्यक हुन्छ । पहिलेको तुलनामा अहिले थोरैमात्र जापानी भाषा जान्ने हो भने पनि पार्ट-टाईम काम पाउनलाई गाह्रो हुँदैन । ९-१० वर्ष पहिला सम्म  ‘नेपाल इन्डियामा पर्छ हो ?’ भनेर सोध्ने जापानीहरू पनि भेटेखी छु। सो समयमा भाषाको राम्रो ज्ञान नहुनेले ग्राहकसंग आमुन्ने-सामुन्ने हुने काम (जस्तैः रेष्टुरेण्ट, कन्भिनियन्स स्टोर, फास्टफूड, सुपर–मार्केट आदि) पाउन मुस्किल जस्तै थियो । त्यतिबेला चिनियाँ र कोरियनहरुलाई भने थोरै मात्र जापानी भाषा जाने पनि यस्ता काममा सजिलै राखिन्थ्यो । अहिले स्थिति बदलिसकेको छ । धेर-थोर जापानी भाषा जानेका नेपालीहरूलाई पनि त्यस्ता काममा सजिलै राख्न थालेका छन् । विशेष गरी टोकियो भित्र नजिकै ठूला कम्पनीहरु नहुने र पार्ट-टाईम काम पाउने ठाउँ भनेको रेष्टुरेण्ट, कन्भिनियन्स स्टोर, फास्टफूड, सुपरमार्केट नै हो, जसमा ग्राहकसंग आमुन्ने-सामुन्ने भएर काम गर्नुपर्दछ । टोकियोका मुख्य भागहरुतिरबाट कम्पनीहरुमा काम गर्न जानु परयो भने जान-आउनलाई लगभग ३ घण्टा जति सयम लाग्न सक्दछ ।

– रमिला सूर्यवंशी

जापानमा आउने जो कोहीले पनि जापान आउनुपूर्व सामान्य जापानी भाषाको ज्ञान लिएर आएमा यहाँ भोग्नुपर्ने स-साना समस्याबाट छुटकारा पाउन सहज हुन्थ्यो । यदि नेपालमा पढ्ने वातावरण नमिलेर आईहाल्नु भए पनि केहि समय यतै पनि जापानी भाषा पढ्न सकिन्छ । हप्तामा १-२ पटक मात्र स्कूल गएर पढ्न मिल्ने गरि नगर कार्यालयहरुले सञ्चालन गरेका भाषा कक्षाहरु पनि छन् । आफू बसेको स्रको सिटी–अफिसमा गएर यसको जानकारी लिन सक्नुहुनेछ ।

यो कुरा विशेषगरि पति या पत्निका रूपमा डिपेन्डेण्ट भएर जापान आउनुभएका र आउनेहरुका लागि उपयोगी हुन्छ त्यस्तै आमा-बुबाको साथमा डिपेन्डेण्टका रुपमा आउनु हुने भाइ–बहिनीको जमात पनि दिन-प्रतिदिन बढिरहेको छ । कति त नेपालमा प्लस टु पढ्दापढ्दै वीचमै छाडेर आउनेहरू पनि छन् भने कति एसइइ समेत पूरा नगरी पढाईलाई  साइड लगाएर काम मात्र गर्नेहरू पनि छन् ।

कति अभिभावकले छोराछोरी मात्र नेपालमा छाडेर राख्दा बिग्रिन्छ कि भन्ने डरले बोलाएका छन् । कतिले भने कमाउने उद्देश्यले नै पढाई बिचमै छोडाएर बोलाउने गरेको पनि भेटिन्छ । कतिले भने छोराछोरी ठूलो भएर वा पढाई सकेर बोलाउदा डिपेन्डेण्ट भिसा दिदैन भनेर पनि बोलाएका छन् । जुनसुकै उद्देश्यले छोराछोरी लाई जापान बोलाए पनि यहाँ आएपछि पार्ट टाइम काममा लगाउने गर्दछन् । अभिभावक स्वयमले पनि छोराछोरी लाई पढाउनेतिर त्यति चासो दिएको जस्तो पाइँदैन । स्कूललाई तिर्ने फि लाई अर्थहिन सम्झन्छन् । (थोरै अभिभावक भने छोराछोरीलाई पढाउन धेरै मिहिनेत गर्नेहरू पनि छन् । अनि केहि भाइबहिनीहरू यता आईसकेर पढाईको महत्व बुझेर सक्नेले यतै पढेका र नसक्नेले नेपाल फर्केर पढ्नेहरू पनि भेटेकी छु ।) बरू सकेसम्म छिटो नेपालमा घर-घडेरी जोड्न लागिपरेको देखिन्छ । देखासिकीले गर्दा, सके काठमाडौं नसके अन्य कुनै शहर वा शहर नजिकैको बस्तीतिर घडेरी जोड्नु परेको छ । अनि त्यसमा घर पनि बनाउनु परेको छ । बिहे, जन्मदिन आदिमा सकी नसकी भोज-भतेर धुमधामले गर्नुपरेको छ तर छोराछोरीको पढाई तथा व्यक्तित्व विकासमा खर्च गर्न डराउने अभिभावकको पनि कमी छैन विदेशिएका हामी नेपालीहरूको समाजमा पनि । के घर-घडेरी जोड्नुमात्र सफलता प्राप्त गर्नु हो र ?

नेपालमा स्कूल पढ्दै गरेका भाइबहिनीहरू जापान आएपछि ५० हजार देखि १ लाख येन जति त महिनामा सजिलै कमाउन थाल्छन् । कमाउन शुरू गरेपछि पढ्नुपर्छ भन्ने बिचार कमैलाई मात्र आउछ होला । अहिले आफ्नाहरूले गरिरहेको ठाँउमा काम पाउन सजिलो छ । अझै भन्ने हो भने नेपाली धेरै भएको ठाँउमा काम गर्न पायो भने भाषाको पनि कुनै समस्या हुंदैन । त्यसै त पढ्नुपर्ने उमेरमा पढ्न मन लाग्दैन । त्यसमाथी पढ्नुपर्छ भन्ने कुराको याद भएन भने पढ्ने कुरै भएन ।

मैले यहाँ धेरै पढ्नुपर्छ भन्न खोजेको होईन । न कि कामै नगरी पढ्नु पर्छ या पढाउनु पर्छ भन्न खोजेको पनि हो । कम्तिमा पनि एन-२ लेबल सम्मको जापानी भाषाको ज्ञान हुनु अति आवश्यक छ किनकी जापानमा जोसंग पनि प्रतिस्पर्धामा उभिन सक्ने आँट पढाई र सर्टिफिकेटले नै दिन्छ ।

अनेक बाध्यताले छोराछोरीलाई जापान बोलाए पनि अधुरो स्कुले शिक्षालाई नियमितता दिन सके छोराछोरीले केही राम्रा अवसरहरू पाउन सक्ने छन् । सकिन्छ भने अझ कलेज सम्मको पढाई पूरा गर्न सके जापानका राम्रा ठाँऊहरूमा हामी नेपालीले पनि काम गर्ने अवसर पाउन सक्ने थियौं । हामी पनि जापानीहरुसंग काँधमा काँध मिलाएर काम गर्न सक्षम हुने थियौ । संधैभरी अभिभावकको डिपेन्डेण्ट भिसाकै भरमा जापान बस्नुपर्ने थिएन ।

डिपेन्डेण्ट भिसामा हुनेहर यदि मुख्य व्यक्तिको भिसा लागेन भने या मुख्य व्यक्तिको अकस्मात मृत्यु भयो भने स्वतः सपरिवारको भिसा पनि रद्द हुन सक्दछ । अर्को कुरा डिपेन्डेण्ट भिसा भएकाले अरुलाई डिपेन्डेण्टका रुपमा राख्न पाउँदैनन् । जस्तो कि कुनै डिपेन्डेण्ट भिसामा भएको व्यक्ति नेपालमा गएर बिहे गरी श्रीमान वा श्रीमतीलाई आफ्नो भिसामा बोलाउन पाईदैन । जापानमा हालसम्म विद्यमान कानून यस्तै छ ।

केहि समय कमाएर नेपाल फर्कने विचार हुनेहरूलाई त ठीकै होला तर लामो समय जापान बस्छु भनेर सोच्नेहरुका लागि यो सोचनीय कुरा हो । नियम परिवर्तन गर्ने हाम्रो वसको कुरा भएन तर पहिले नै नियम बुझेर आईपर्ने समस्याको समाधान खोज्न सकिन्छ ।

नेपालमा स्कूले तहको पढाई समेत नसकी जापान आएर कम्पनीतिर काम गर्नेहरुले एउटा काम कारणवश छोड्नु परयो भने भाषा नजानेर अर्को काम आफैले खोज्ने आँट गर्न सक्दैनन् । विद्यार्थी भिसामा आउनेहरूलाई भन्दा अभिभावकको डिपेन्डेण्ट भिसामा आउनेलाई केहि हदसम्म सजिलो छ । खान-बस्नको समस्या हुँदैन साथै भिसाको पनि । आफ्ना लागि पुग्ने खर्च आफैले जुटाएर पनि चाह्यो भने पढ्न सकिन्छ । २-४ वर्ष अलि मिहिनेत गरेर पढ्ने र पढाउने हो भने राम्रो ठाँऊमा काम गर्ने नेपालीको संख्या बढ्ने थियो ।

अन्तमा, हरेक देशको अर्थतन्र बेलाबेलामा खस्किरहेको हुन्छ । यस्तो बेलामा काम पाउन गाह्रो हुन्छ र रोजगारदाताले कामदार छान्न पाउने मौका पाउँछन् । काम दिने भन्दा काम खोज्नेहरू धेरै भएपछि जो सँग धेरै क्षमता छ उसैले काम पाउनु स्वभाविक हो । त्यसैले आफ्नो क्षमताको विकास गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । ***

तपाईको प्रतिक्रिया