आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

योकोहामा – कोरोना भाइरसका कारण मृत्यु भएको भनि गलत जानकारी दिइएको भन्दै योकोहामा नगर सरकारले मृतकका परिवारसंग माफी मागेको छ ।

तस्विरः क्योदो न्यूज

गत महिना योकोहामाको सहरी स्वास्थ्य संस्थानले ८० बर्षिय एक पुरुषको मृत्युको कारण कोरोना भाइरस भएको रिपोर्ट दिएको थियो । स्थानीय अधिकारीहरुका अनुसार पछि चेकजाँच गर्दा उनको मृत्यु कोरोना भाइरसका कारण नभई अन्य कारणले भएको तथ्य पत्ता लागेको थियो ।

कोरोना भाइरसका कारण मृत्यु भएका भनिएका ति पुरुषबाट संक्रमण सर्नसक्ने जोखिम भएका कारण उनको परिवारलाई मृत्युपश्चात पनि भेट्न दिइएको थिएन । ‘चेकजाँच सही ढंगले भएको रहेनछ, यसबाट परिवारमा पर्न गएको क्षतिप्रति हामी माफी चाहान्छौं ।’ – योकोहामा नगरका एक अधिकारीले भने ।

टर्मिनल क्यान्सरका विरामी ति व्यक्ति गत मार्च १९ मा हस्पिटल भर्ना भएका थिए, त्यसको ४ दिनपश्चात उनको मृत्यु भएको थियो । उनको अन्तिम संस्कारको अघिल्लो दिन उनको मृत्यु कोरोना भाइरसका कारण भनि जानकारी गराइएको भएपनि अन्त्यस्टीका दिन स्वास्थ्य संस्थानका कर्मचारीले सो तथ्य गलत भएको थाहा पाएलगत्तै परिवारलाई जानकारी गराई माफी मागेका थिए ।

लगभग एक महिनासम्म यो कुरा किन बाहिर आएन भन्ने प्रश्नमा अधिकारीहरुले भनेका छन् – ‘हामी परिवारसंगको छलफलमा व्यस्त थियौं साथसाथै दैनिक कोरोना भाइरसको परीक्षणका लागि व्यस्त रहेकाले यो घटना बाहिर ल्याउन ढिला भयो ।’

केही दिन अघि खानागावा केनमा नै यस्तै अर्को घटना समेत सार्वजनिक भएको थियो ।***

तपाईको प्रतिक्रिया