मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो । नयाँ कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै जाँदा जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले परीक्षणको क्षमता बढाएर २० हजार जना प्रतिदिन बनाउने तयारी गरेको छ ।

हाल १२ हजार जना दैनिक परीक्षण गर्ने क्षमता रहेको जापानमा सरुवा रोगका लागि राष्ट्रिय प्रयोगशाला, सार्वजनिक स्वास्थ्य संस्थान तथा अन्य हस्पिटल लगायतमा दैनिक कोरोना भाइरसको चेकजाँच हुँदै आएको छ ।

चेकजाँचका लागि आवश्यक पर्ने उपकरणहरु समेत थप गरिने छ जसका लागि हालै घोषणा गरिएको आपतकालिन आर्थिक सहायता रकम प्रयोग गरिनेछ ।

कोरोना परीक्षणको काममा संलग्न हुने व्यक्तिहरुको संख्या समेत बढाइने बताइएको छ । हाल हप्तामा ४ हजार जना यस्ता काममा संलग्न छन् । देशका केही भागहरुमा सुरु गरिएको ‘ड्राइभ थ्रु टेष्ट’लाई अन्य भागहरुमा समेत विस्तार गर्ने तयारी गरिएको छ । जसअन्तर्गत कोरोना भाइरसको स्वाव यात्रा गरिरहेका व्यक्तिहरुले गाडिबाट ननिस्किकन दिन सक्नेछन् ।

यो कामका लागि स्वास्थ्य मन्त्रालयले समय सिमितता नतोकेका भएपनि जतिसक्दो छिटो क्षमता बढाइने बताइएको छ ।

जापानमा कोरोना भाइरसको परिक्षण कम गरिएको भन्ने गुनासाहरु समेत बारम्बार सुनिंदै आएका छन् ।***

तपाईको प्रतिक्रिया