मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

नागोया । मध्य जापानको आइची प्रिफेक्चरमा पनि संकटकाल घोषणा गरिने भएको छ । नयाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनहुँ बढ्दै जाँदा शुक्रबारदेखि लागू हुनेगरि संकटकाल घोषणा गर्ने तयारी भएको हो ।

बिहिबार विहान पत्रकार सम्मेलनको आयोजना गरि आइची प्रिफेक्चरका गभर्नर हिदेआकी ओमुराले सो कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शिन्जो आबेले मंगलबार टोकियो, ओसाका सहित ५ अन्य प्रिफेक्चरमा संकटकालको घोषणा गरेसंगै आइची प्रिफेक्चरका गभर्नरले आइचीमा पनि संकटकाल घोषणा गर्न माग गरेको बताएका थिए ।

बिहिबार विहानसम्मको तथ्यांक अनुसार आइची प्रिफेक्चरमा नयाँ कोरोना भाइरसबाट संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ८० छ ।

बिहिबार विहान पत्रकार सम्मेलनमा गभर्नरले भनेका छन्– “बढ्दो प्रकोपलाई रोक्न संकटकालको घोषणा गर्ने निर्णयमा हामी पुगेका छौं, भोली त्यसको घोषणा गर्ने तयारीमा छौं ।” उनले आइची बासीहरुलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सामाजीक दूरी कायम राख्न समेत बारम्बार आग्रह गरिरहेका छन् ।

नयाँ कोरोना भाइरसका कारण जापानका विभिन्न स्थानहरुमा संक्रमित हुनेहरुको संख्या निरन्तर बढिरहेको छ । बुधबार मात्र जापानभरमा ५०० भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया