होचो र अग्लोको दम्भ, कालो र सेतोको बर्ण विभेद, धनी र गरिव वीचको खाडल, विद्वान र मूर्खको भिन्नता, बलियो र निर्धाको घमण्ड, बिकसित र अबिकसितको फरक हुँदै आज बिश्व शक्ति र पूँजिवादको उत्कर्षमा पुगेको आडम्बर र घमण्डले या भनौ एक-अर्कामा ठूलो र सानोको द्वेष वा आफ्नो अर्थतन्त्रमा बिशाल गिरावट आउने भयले संसार त्रसित हुँदा पनि भूगोलका केहि राष्ट्रहरु भने आफ्ना नागरिकको कुनै प्रवाह नगरी उद्योग धन्दा, कल कारखाना या भनौ सम्पूर्ण संयन्त्रहरु यथावत सुचारु गरिरहेका देखिन्छन् नै।
आज विज्ञानले सबै कुरा सम्भब छ भन्दै गर्दा या पृथ्वीमा बसेर चन्द्रमाको अवलोकन गर्दै गर्दा या भनौ बिश्वको एक कुनाबाट रिमोट दबाउँदा अर्को कुनामा ध्वस्त गर्न सक्ने शक्ति, टेक्नोलोजी र सामर्थ्य राख्न सक्ने संसारका शक्तिशाली मुलुकहरु पनि आज सानो भाइरसको कारण आफ्ना कैयौं नागरिकहरु गुमाईरहेका छन् ।पूँजी र शक्ति हुँदा दुनियाँमा जे पनि संभव छ भन्दै गर्दा आज किन कोभिड-१९ ले संसार तरंगित बनाईदियो त ? के विज्ञानका ठूला-ठूला आविष्कारहरु, मेडिकल टेक्नोलोजिहरु साँच्चै यतिबेला निकम्मा सावित भएका हुन् त?
अब यसले निकट भविष्यमा ती राष्ट्रहरुको स्वास्थ्यमा गम्भीर चुनौति थपिएको पक्कै छ।प्रजा रहे राजा रहन्छन् भने झैं यसरी देशको आर्थिक आडम्बर र घमण्डले भोलि कस्तो परिणाम आउला कल्पना गर्दा पनि निद्रा हराउने स्थिति छ।
आफ्नो देश र आफ्ना नागरिकहरुको सुरक्षित अवतरणका लागि अब अमेरिका, जापान जस्ता मुलुकहरुले पनि भाइरस थप संक्रमण हुन नदिन केहि समय आफ्ना नागरिकहरुलाई यथास्थानमा रहने गरी ‘लक-डाउन’ गर्न ढिला गर्नै हुन्न।
देशको अर्थतन्त्रमा गिरावट आउने भयमा यसरी नै खुलेआम नागरिकहरुलाई रोक नलगाउने हो एकअर्कामा भेटघाट, आदान-प्रदान हिडडुल भईरहने हो भने संक्रमण फैलिएर अनियन्त्रित हुन पनि सक्छ । त्यो बेला ढिला भईसकेको हुनेछ, पछुताउनु शिवाय केहि हुने छैन। छिमेकीको घर जलिरहँदा आफु ट्वाल्ल परेर हेरिरहने र सुरक्षा संयन्त्र अवलम्वन नगर्ने हो भने भोलि आफु पूरै जलिसकेको पत्तो हुने छैन।***
चिवा, जापान