Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकामा रहेका चार नेपालीमा कोरोना (कोभिड-१९) भाइरस संक्रमण भेटिएको छ । अमेरिकाको न्यूयोर्कका संक्रमित दुई जनाको अलि बढी गम्भीर रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जानकारी गराएका छन् ।

संक्रमितमध्ये तीन जना न्यूयोर्कको ज्याक्सन हाइट निवासी रहेको जनाइएको छ । अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन् । न्यूयोर्क बसोबास गर्ने उनीहरुलाई तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ज्याक्सन हाइटका तीन नेपालीमा कोरोना संक्रमण देखिएको हो । ती सबै पुरुष हुन् ।

बानियाँले जानकारी दिए, ‘तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ ।’ न्यूयोर्ककै अर्का संक्रमित ५५ वर्षीय पुरुषको अवस्था सामान्य रहेको बानियाँले जानकारी दिए । उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन् ।

५० वर्षीय नेपालीमा पाँच दिन अगाडि कोरोनाको संक्रमण देखिएको थियो । उनमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरु रिपोर्ट पर्खदै अहिले घरमै ‘सेल्फ आइसोलेसनमा’ रहेको पनि बानियाँले जानकारी गराए । भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा दुई दिनअघि भाइरस पोजिट देखिएको हो । उनी फेयर फ्याक्सकी बासिन्दा हुन् ।

उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएको बानियाँले बताएका छन् । अमेरिकामा पछिल्लो समय कोरोना संक्रमण फैलने क्रम तीब्र भइरहेको न्यूयोर्क टाइम्सले लेखेको छ । कोरोना संक्रमण देखिनेमा न्यूयोर्क शहर अगाडि छ ।

तपाईको प्रतिक्रिया