बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – जापानमा रहेको अमेरिकन राजदूतावास र सो मातहतका सबै कन्सुलेट शाखाहरुले मार्च १९ देखि भिसा सेवा उपलब्ध नगराउने भएका छन् ।

अमेरिकन राजदूतावासले आफ्नो होमपेजमा एक सूचना जारी गर्दै बिश्वब्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गर्नुपरेको बताएको छ ।

मार्च १९ देखि लागू हुने गरी डिप्लोमेटिक, अफिसियल, इमिग्र्यान्ट लगायतका सबै भिसा सम्बन्धि सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको सूचनामा उल्लेख छ । अमेरिकन नागरिकका लागि भने दूतावासद्वारा प्रवाह हुने सबै सेवाहरु सुचारु रहने जनाइएको छ ।

सूचनामा जनाईएअनुसार भिसा प्रयोजनका लागि मार्च १९ पछि तय भएका सबै अन्तरवार्ताका तिथिमितिहरु रद्द गरिएका छन् । त्यसकारण पूर्व निर्धारित तोकिएको मितिमा उपस्थित हुन नपर्ने अमेरिकन दूतावासले जनाएको छ ।

‘हामी जतिसक्दो चाँडो नयाँ तालिका बारे जानकारी गराउने छौं, तर वर्तमान परिस्थितिमा हामी विशेष तिथिमिति दिन असमर्थ छौं, यसबाट पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छौं’ सूचनामा भनिएको छ- ‘यदि यसभन्दा अगाडि नै तपाईको भिसा जारी भईसकेको भएता पनि अर्को सूचना जारी नभएसम्मका लागि त्यसलाई सस्पेण्ड गरिएको छ । परिस्थिति सहज भएपछि त्यसैलाई आधार मानेर प्रक्रियालाई निरन्तरता प्रदान गर्न सकिने छ । भिसा शुल्क भुक्तानी गरिसकेकाहरुका हकमा सो शुल्क भुक्तानी गरेको मितिले एक वर्षसम्मका लागि मान्य हुने छ ।’

प्रक्रियामा रहेका भिसाका आवेदकहरुले अन्तरवार्ताका लागि दूतावासको आधिकारिक निकायमा उपस्थित हुन पर्नेछैन, इमेलमार्फ जानकारी आदान-प्रदान गर्न सकिने अमेरिकन दूतावासले जनाएको छ । अर्जेन्ट ट्राभलरको हकमा भने अमेरिकन दूतावासको भिसा कल सेन्टरमा सम्पर्क गरी आवश्यक परामर्श गर्न सकिने बताईएको छ ।***

तपाईको प्रतिक्रिया