Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

विराटनगर – कोरोना संक्रमणको त्रास बढेसंगै विराटनगरमा मास्क र सेनिटाइजर पसल र सुपरमार्केटमा पाइन छाडेको छ । चिकित्सकलाई समेत कठिनाइ हुने भएपछि कोसी अस्पताल विराटनगरका चिकित्सके आफैं मास्क बनाउन सुरु गरेका छन् । उनीहरूले बिरामी, तिनका आफन्त र अस्पतालका कर्मचारीलाई समेत पुग्ने गरी सेनिटाइजर पनि बनाएका छन् ।

विराटनगरमा मास्क र सेनिटाइजको अभाव भएसंगै यसको उत्पादन आफैं थालिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले जानकारी दिएकी छन् । भनिन्, ‘बाहिर बजारमा पाइन छाडेपछि हाम्रा स्टाफ र बिरामी तथा तिनका आफन्तले पनि प्रयोग गर्न मिल्ने गरी आफैं सेनिटाइजर बनाएका हौं ।’ मिश्रले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटलगायत केमिकल्स प्रयोग गरेर सेनिटाइजर बनाइएको छ ।

अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको लागि कपडाको दुई लेयरको मास्क तयार गरिएको पनि मिश्रले बताएकी छन् । चाहिने जति संख्यामा मास्क उत्पादन गर्ने आफूहरूको तयारी रहेको उनले सुनाइन् । कोसी अस्पतालमा दैनिक करिब ४ हजार बिरामी उपचार गर्न आउने गरेका छन् । तर, कोरोना संक्रमणको त्रास फैलिएसंगै अस्पतालमा सावधानी अपनाउनुपर्ने भएकोले बिरामी र कुरुवालाई समेत अनिवार्य हात धुने प्रबन्ध गर्न साबुन पानीको व्यवस्था गरिएको छ ।

अस्पतालले शंकास्पद कोरोना बिरामीको उपचार गर्न बनाएको वार्डका प्रमुख डा. लक्ष्मीनारायण यादवले भने, ‘अलग्गै बेड पनि एक दुई दिनभित्रै तयार भइसक्छ । हामीले युद्धस्तरमा वार्ड तयार गरिरहेका छौं ।’ चिकित्सक यादवले रोगको संक्रमणबारे फैलिएको हल्लाबाट धेरै डराउनुको साटो सावधानी अपनाउन साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, भिंडभांडमा नजाने जस्ता सामान्य सावधानी अपनाउन सके कोरोनाको संभावित संक्रमणबाट बच्न सकिने बताए ।

यसैबीच कोसी अस्पतालबाट दुई जनालाई कोरोना संक्रमणको आशंका थप उपचारका लागि धरान पठाइएको यादवले बताए । तर, उनीहरूको पहिचान भने अस्पतालले खुलाएको छैन । उनीहरू वैदेशिक रोजगारीबाट हालै फर्किएको बताइएको छ । प्रदेश १ सरकारले कोरोना संक्रमित आशंका भए सुनसरीको श्रीलंका टप्पु र मोरङको टाँडीमा क्वारेन्टाइन गर्ने तयारी गरेको छ । त्यहाँको भौतिक संरचनामा एक हजार जनालाई राख्न सकिने मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया