सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन्। दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन्।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजा समक्ष राजीनामा गरेको उल्लेख छ, तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसंग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन्। महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो।

राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रुपमा समर्थन जारी राख्ने जनाएको छ। सरकारमा सम्मिलित मन्त्रीहरु समेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

महाथिरको बर्सातु र अनवरको पार्टीका झण्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन्। यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो। चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाई गर्नुभएको थियो।
अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताएका छन्। तर उनले सत्ता गठबन्धनका बारेमा केही बताउन चाहेनन्।

पछिल्लो राजनीतिक संकटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ। कट्टरपन्थी इस्लामिक पार्टीसंग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ। अनवर र उनहाँकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ।

विज्ञहरुले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन्। उनीहरुले नयाँ सरकारको गठनले मलाय  इस्लामिक पार्टीको बर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि संकट निम्त्याउने चेतावनी दिएका छन्। रासस***

तपाईको प्रतिक्रिया