सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरू त्रासमा बसिरहेका छन् । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत फैलिएपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् ।

पछिल्लो तथ्यांकअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरियामा रहेका नेपालीले आफूहरू सुरक्षित तवरले बसिरहेको बताएपनि त्रास भने कायम छ । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । थेगु सहरमा तीन हजार बढी नेपाली बसोबास गरिरहेका छन् । त्यहाँको सरकारले सूचना प्रसारण गर्दै बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न र मिचेर हात धुन आह्वान गर्दै आएको छ ।

कोरियास्थित नेपाली दूतावासले जरुरी सूचना प्रकाशित गरी नेपाली कामदारलाई सुरक्षित रहन र स्वास्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कोरियामा हाल ४४ हजार नेपाली बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरू रहेको बताइएको छ ।

कोरियाको उल्सान सहरमा रहेका नारायण कँडेलले भने भीडभाडमा गएका छैनौं दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । त्यहाँबाट नजिकै रहेको उल्सान सहरमा काम गर्ने नारायण कँडेल केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोना भाइरसको संक्रमण ।

कोरियाको चौथो ठूलो सहर थेगुनजिकैको उल्सान सहरमा विभिन्न कम्पनी छन् । कामका लागि कोरिया पुगेका नेपालसहित विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर, थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् ।

कोरोनाको त्रासपछि कोरियाको थेगुका उडानहरु स्थगित
कोरोनाको त्रासपछि दक्षिण कोरियाको थेगुका केही उडानहरु स्थगित भएका छन् । थेगु कोरियाको सबैभन्दा बढी कोरोना संक्रमित क्षेत्र हो ।

सोमबार कोरियन एयरलाइन्स र एसियाना एयरलाइन्सले आफ्ना उडानहरु स्थगित गरेको रोयटर्सले जनाएको छ । कोरियन एयरलाइन्सले आगामी मार्च २८ सम्म र एसियानाले मार्च ९ सम्म आफ्ना उडानहरु स्थगित गरेको घोषणा गरेको छ । सोमबार बिहानसम्म कोरियामा ७६३ जनामा कोरोनाको संक्रमण देखिएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया