सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सिन्धुली – दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले बीपी राजमार्ग अवरुद्ध गर्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बाटोमै रोकिएका छन् ।

सोमबार बिहान बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा गाडीले ठक्कर दिँदा स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पहिचान भएको छैन ।स्थानीय वासिन्दाले गाडी चालकलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरि सडक अवरुद्ध गरेका छन् ।

राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बाटोमै रोकिँएका छन् । उनीहरूसँगै रक्षामन्त्री पोखरेल पनि बाटोमै रोकिएका हुन् ।

रक्षामन्त्री पोखरेल कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन सिन्धुली जाँदै थिए । ठक्कर दिने सवारी साधनको खोजी तथा अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताए ।

तपाईको प्रतिक्रिया