काठमाण्डौ – जापानमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टाेकियाे सीमा नजिककाे भएको बताइएको छ ।
गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्काे अस्पतालमा स्थान्तरण गरिएको थियो ।
दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टाेकियाेका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ ।
केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।
योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ ।
यसैबीच काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार चार सय ८३ पुगेकाे छ भने सङ्क्रमितकाे सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएकाे छ