काठमाडौं – चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको हो ।
कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको छ। तर चीनमा नोवेल कोरोनाका कारण नयाँ संक्रमित हुनेको संख्या भने स्थिर रहेको छ । चीनभर हालसम्म ४० हजार १७१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रमित तथा मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन् ।
हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहान शहर विगत केही हप्तादेखि बन्द रहेको छ ।