Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

सुरुङ्गा – झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया हुनुभयो ।

जन्मदेखि मृत्युसम्म र मन्दिरदेखि घाटसम्म नै अति आवश्यक मानिने फूल केही समयअघिसम्म चाडपर्व (दशैँ, तिहार)लाई लक्षित गर्दै सोखका रूपमा घर वरिपरि आँगनको डिलमा वा करेसाबारीमा थोरै मात्रामा रोप्ने गरिन्थ्यो । तर, अहिले घर सजावटका लागि मात्रै रोपिने  त्यही फूलको झापामा व्यावसायिक खेती हुने गरेको छ ।

फूल रोपेरै अधिकारीले वार्षिक रु पाँच लाख आम्दानी गर्न थालेपछि उहाँको परिचयसँगै आर्थिकस्तरसमेत माथि उठेको बताइएको छ । अधिकारीले अहिले आठ कठ्ठा क्षेत्रफलबाट फूल रोपेरै  मनग्य आम्दानी गरिरहनुभएको छ । गत तिहारमा मात्रै उहाँले फूल बेचेर रु एक लाख २० हजार आम्दानी गर्नुभयो ।

“प्रतिकेजी रु ३०/४० मा बिक्री हुने सयपत्री फूल तिहारको बेला तीन दिनमा मात्रै रु एक लाख २० हजारको बिक्री गरेपछि छरछिमेकीसमेत अचम्मित भए”, अधिकारीले भन्नुभयो, “तीन दिनमा रु एक लाख २० हजारको फूल बेचेपछि अहिले मलाई पनि फूलखेती गर्ने सिकाइदिनु भन्नेहरुको कमी छैन ।”

नेपाल टेलिभिजन हेर्दा फूलखेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहितको पश्चिम नेपालको एउटा फूलखेतीसम्बन्धी समाचारको प्रेरणाले फूलखेती गर्न शुरु गरेको उहाँले बताउनुभयो । “गर्न जाने हुँदोरहेछ”, अधिकारीले भन्नुभयो, “हिजो फूल रोप्दा न दशैँ न तिहार किन फूल रोपेकी भनेर खिसी गर्नेहरु अहिले मलाई पनि फूलखेती गर्न सिकाइदिनु दिदी भन्दै आउँछन् ।”

 

तपाईको प्रतिक्रिया