शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौँ – युरोपेली संसद्ले बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनेसम्बन्धी सम्झौता अनुमोदन गरेको छ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन् ।

४९ सांसदविरुद्धमा उभिए भने १३ जनाले मत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झन्डा प्रदर्शन गरेर इयूसँग बहिगर्मनको हर्षोल्लास गरे । युरोपेली संसद्का अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए ।

बेलायतले ४७ वर्षदेखि सदस्य रहेको ईयूसँगको सम्बन्ध यही शुक्रबार राति ११ बजे त्याग्दै छ । त्यसपछि ११ महिना ‘संक्रमणकाल’ रहनेछ । युरोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले इयू र युके असल मित्र र साझेदारका रूपमा रहून् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै भनिन्, ‘हामी सधैं यूकेलाई माया गर्नेछौं, कहिल्यै टाढा हुने छैनौं । युरोप अमर रहोस् ।’

ब्रिटिस संसद्को तल्लो सदन हाउस अफ कमन्सले पनि ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ । ब्रेक्जिट सम्झौतामा भविष्यमा यूके ईयू नागरिकका अधिकार, उत्तरी आयरल्यान्ड सीमा व्यवस्थापन र बेलायतले ब्रसेल्सलाई पारपाचुके रकम भुक्तानी गर्ने सहमति छ । प्रधानमन्त्री बोरिस जोनसन संक्रमणकालभित्र ईयूसँग खुला व्यापार सम्झौता गर्ने योजनामा छन् ।

तपाईको प्रतिक्रिया