Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दुमा रहेको चीनको वुहान र नजिकैका नगरमा अड्किएका झन्डै १०० जना नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने पहल गरिए पनि चिनियाँ अनुरोधमा उनीहरूलाई त्यहीँ रोकिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबे प्रान्तका वुहान र अन्य नगरमा रहेका नेपालीहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेलगत्तै स्वदेश फिर्ता गर्न पहल गरिएको थियो । तर चिनियाँ परराष्ट्र मन्त्रालयले सङ्क्रमण फैलिन नदिन सबै देशका नागरिकलाई आफ्नो नगर नछोड्न अनुरोध गरेकोले वुहान र वरपर रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने प्रयास अहिलेलाई स्थगित गरिएको लम्सालले बीबीसी न्यूज नेपालीलाई बताए ।

तर छिमेकी देश भारतको विदेश मन्त्रालयका प्रवक्ताले हुबे प्रान्तबाट आफ्ना नागरिकलाई अन्यत्र लैजाने प्रक्रिया सुरु गरिएको बताएको छ । वुहानको एउटा माछा बजारबाट कोरोनाभाइरस फैलिन थालेको आशङ्का गरिएपछि त्यो नगरमा सबै यातायात बन्द गरिएको छ । हुबे प्रान्तका वरपरका अन्य नगरमा पनि यातायात सेवा बन्द गरिएको छ ।

दूतावासको अग्रसरता
लम्सालका अनुसार नेपाल सरकारले वुहान र वरपरका क्षेत्रबाट आफ्ना नागरिक फिर्ता लैजान अग्रसरता देखाएको छ । ‘हामी आवश्यकताअनुसार सबै कदम चाल्न तयार छौँ । तर यो विशिष्ट परिस्थिति भएकोले चीनले अहिलेसम्म अनुमति दिएको छैन,’ उनले भने ।

नेपालका राजदूतले पनि सङ्क्रमण थप फैलिन नदिन आफ्ना नागरिकलाई फिर्ता लैजान हतार नगर्ने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्रालयसमक्ष गरिसकेको उनले बताए । नेपाली दूतावासका नियोग उपप्रमुख लम्सालका अनुसार चीनमा अहिले झन्डै ८,००० नेपाली छन् । चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु र मङ्गलवारसम्म ४,५०० भन्दा बढी व्यक्तिमा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि गरेका छन् ।

हुबेका केही सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ । अहिले वुहान तथा हुबे प्रान्तका अधिकांश स्थान सुनसान देखिन्छन् । भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने त्रास बढेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।

नेपालीको शव अझै वुहानमा
वुहानमा सङ्क्रमण फैलिएर यातायात सेबा बन्द भएपछि त्यहाँ गत हप्ता हृदयाघातका कारण मृत्यु भएका एक नेपालीको शव नेपाल ल्याउने पहल अझै सफल हुन नसकेको दूतावासको भनाइ छ ।

हुबेका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त भइरहँदा उनले उनीहरूलाई आवश्यक सबै सहयोग र परामर्श दिनका लागि नेपाली दूतावासले सक्रियतापूर्वक काम गरिरहेको बताए । उनले भने, ‘अहिले चिन्ता लिनुपर्ने अवस्था केही छैन । नेपालीहरू सबै सुरक्षित हुनुहुन्छ । चीन सरकारले अनुमति दिनेबित्तिकै उहाँहरूलाई सबैभन्दा पहिले उद्धार गर्ने हामी नै हुनेछौँ ।’ –बीबीसीबाट

तपाईको प्रतिक्रिया