Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – केबल एकपटकका लागि रातभर नसुत्नुले पनि हाम्रो दिमागमा ‘तोउ’ नामक एक किसिमको प्रोटिनको स्तर बढ्ने गरेको पत्ता लागेको हो जसलाई अल्जाइमरको सबैभन्दा ठूलो कारक मानिन्छ ।

एक रातभर ननिदाएका २० को उमेरका १५ पुरुषहरुमा गरिएको हालैको एक परीक्षणपछि उनीहरुमा ‘तोउ’ को मात्रा एक चौथाइ भन्दा धेरैले वृद्धि भएको पाइएको हो ।

वैज्ञानिकहरुले यसअघि पनि राम्रो निद्रा नपुर्याउनु र मस्तिष्कमा तोउको स्तर बढ्नु अल्जाइमरसँग सम्बन्धित रहेकाबारे चेतावनी दिइसकेका छन् ।

तर पनि स्वीडीस अनुसन्धानकर्ताहरु यो नयाँ खोजीबाट भने आश्चर्यमा परेको बताएका हुन् जसमा केबल एक रात निद्रा नपुर्याउनुले यति ठूलो प्रभाव पार्न सक्ने देखाएको हो ।

उनीहरुका अनुसार यो अध्ययन विशेषगरी रातभर पढ्ने विद्यार्थी र रातभर काम गर्ने कर्मचारीहरुका लागि ठूलो चेतावनी साबित भएको छ ।

वास्तवमा हाम्रो शरीरले निदाएका समयमा दिमागबाट त्यस किसिमका सबै हानिकारक तत्वहरु ‘फ्लस आउट’ अर्थात हटाउने गर्दछ तर हामी नसुतेमा भने शरीरले त्यसो गर्ने मौका पाउँदैन । दिमागमा तोउ रहिरहनुले हाम्रो ब्रेन सेल्सको काममा अवरोध पुर्याइ अन्ततः सेल्सहरु मारिदिने गर्दछ ।

यसरी स्मरण शक्ति गुम्ने लगायतका रोगहरुको लक्षण देखा पर्नु भन्दा दशकौँ अगाडिदेखि नै त्यस्ता हानिकारक प्रोटिनहरु विकसित हुन सुरु गर्न सक्छन् ।

हाल बेलायतमा मात्र अल्जाइमरका १० लाख भन्दा धेरै बिरामी छन् भने अमेरिकामा पनि ५७ लाख यसबाट प्रभावित छन् ।

यस्तोमा मानिसहरु लामो समयसम्म बाँच्दा त्यो सङ्ख्या अझ वृद्धि हुन सक्ने विज्ञहरुले बताएका हुन् ।

यसमा स्वीडेनको युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले औसतमा २२ वर्ष पुगेका १५ पुरुषहरुको परीक्षण गरेका हुन् ।

यसमा सबै सहभागीले दैनिक सातदेखि नौ घण्टासम्म नियमित निद्रा पुर्याउँदै आएका थिए ।

यस क्रममा उनीहरुको रगतको स्याम्पल बिहान र बेलुका दुईपटक संकलन गर्ने गरिएको थियो ।

यसपछि उनीहरुमध्ये आधालाई मात्र सुत्न दिइयो भने अन्यलाई चाहिँ एकदिनका लागि रातभर जाग्राम बस्न भनिएको हो ।

यसबीच उनीहरुले रातभर मोबाइलमा गेम खेल्ने, फिल्म हेर्ने, काम गर्ने, गफ गर्ने गरेका थिए ।

यस्तोमा अनुसन्धानकर्ताहरुले तिनको रगतमा तोउको मात्रामा त्यो रातपछि अचानक वृद्धि भएको पाएका हुन् ।

अनुसन्धानकर्ताहरुले भनेका छन्, “यो अध्ययनले के देखाउँछ भने युवा अवस्थामा रहेका स्वस्थ व्यक्तिहरुमा पनि केबल एक रात निद्रा बिराउनुले तोउको सतरमा ठूलो वृद्धि गराउन सक्छ जसका गम्भीर हानिकारक पक्ष रहेका छन् ।”

यसरी डिमेन्टिया वा अल्जाइमर जस्ता रोगबाट बच्न सबैले सुरुवाती उमेरदेखि नै राम्रो निद्रा पुर्याउनुपर्ने डाक्टर सारा इमारिसिओ बताउँछिन् जो अल्जाइमर रिसर्च युकेकी प्रमुख अनुसन्धानकर्ता हुन् ।

तपाईको प्रतिक्रिया