काठमाडौं – शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन गर्नका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाललाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । आबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फन्ड फर डेभलपमेन्टअन्तर्गत सहुलियतपूर्ण कर्जा दिने घोषणा गरिएको हो ।
युएइले नेपाललाई एक करोड अमेरिकी डलर (करिब एक अर्ब १३ करोड रुपैयाँ) दिने भएको छ । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्राङ्गारिक मल उत्पादन गरिनेछ ।
यो कर्जाका लागि सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्स, एन्टिगुवा र बर्मुडा छानिएका थिए । फन्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए ।
सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पुनका साथै प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भूमी त्रिपाठी, उर्जा मन्त्रालयका सहसचिव मधूप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकाललगायतको सहभागीता रहेको थियो ।