मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ । दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो । पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ । ५० हजार रुपैयाँसम्म जरिवाना अध्यागमनले उनीहरूलाई गर्न सक्छ ।

दुईवटा चार्टर्ड विमान ल्याउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ । चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर लैजान लागिएको हो । उनीहरूको निष्कासन प्रक्रियाबाट छलफल गर्न चिनियाँ दूतावासका अधिकारीहरू सोमबार अध्यागमन विभाग पुगेका थिए ।

तपाईको प्रतिक्रिया