Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – देशका ४५ जिल्लामा डेंगुका धेरै बिरामी फेला परिरहेको अवस्थामा राजधानीमा समेत डेंगुका बिरामी फेला परेका छन् । केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।

उनका अनुसार हाल उपत्यकाभित्रै बसोबास गर्ने तीनजनामा डेंगु संक्रमण देखिएको छ । उनले भने ‘छिमेकी जिल्लाबाट त बिरामी आइरहेका छन्, तर केही दिनअगाडि ओपिडीमा उपचारमा आउनु भएको उपत्यकाकै स्थानीय चार जनामा डेंगु देखिएको छ।’ अस्पतालको ओपिडीमा दैनिक दुई/चारजना डेंगु सक्रमणका बिरामी आउनले डा. पुनले बताए ।

यस्तै, अस्पतालका अर्का सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार हाल अस्पतालमा आठजना डेंगुका बिरामीलाई भर्ना नै गरेर उपचार भइरहेको छ । अहिले भर्ना हुने सबै मकवानपुरका बिरामी भएको र उनीहरूको अवस्था सामान्य रहेको समेत डा. बाँस्तोलाले बताए ।

कसरी सर्छ डेंगु
डा. पुनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फुल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले ३/४ दिनदेखि जमेको पानीमा मात्र फुल पार्ने गर्छ । यहि एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ ।

के हो लक्षण
डा. पुनका अनुसार लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई/तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिने डा. पुनले बताए ।

यस्ता लक्षण देखा पर्नेबित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन्, उनी । यसलाई वेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गई शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्न थाल्ने, दिशा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मृगौला तथा मुटुमा समस्या देखिने उनले बताए । यस्तो अवस्था देखिएपछि उपचारमा बेवास्ता गरियो भने शरीरका अंगहरूले काम गर्नै छाड्ने समस्या पनि हुन सक्ने भन्दै डा. पुनले सचेत रहन सुझाव दिएका छन् ।

यसरी बच्न सकिन्छ डेंगुबाट
यस्ता लक्षण देखिनासाथ चिकित्सकलाई देखाउन डा. पुनले सल्लाह दिएका छन् । उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया