Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – गठनको १५ महिना पूरा भए पनि सरकारलाई निश्चित दिशा दिन नसकेको सत्ताको नेतृत्व गरिहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक मतभेद बढेको छ । विशेषतः ‘कार्यदिशा’ मा मत बाँझिदा शीर्ष नेतादेखि अध्यक्षद्वय बीचमै अविश्वास सिर्जना भएको छ । एकथरी ‘समाजवाद उन्मुख जनताको जनवाद’ तर्फ ढल्किए भने अर्काथरी नेता ‘जनताको बहुदलीय जनवाद’ तर्फ। यो विषयको मतभेदसँगै दुईतिहाइ मत पाएको सरकारबाट धेरै अपेक्षा गरेको जनता निरास छन् भने सरकारको आलोचना बढेको छ । अर्कातिर ३ महिनामा पूरा गर्ने भनिएको पार्टी एकताको काम १३ महिनासम्म पनि टुंगिएको छैन, जसकारण तल्लो तहका नेता-कार्यकर्ता बेरोजगार छन् । यो अवस्थामा अब नेकपाको कार्यदिशा के हो ? दुईतिहाइ मत पाएको लोकप्रिय सरकार पछिल्लो समय किन अलोकप्रिय हुँदै जान थाल्यो ? यिनै विषयमा केन्द्रीत रहेर नेकपाका युवा नेता ठाकुर गैरेसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

नेकपामा फेरी ‘कार्यदिशा’ विवाद देखियो, किन ?
तत्कालिन एमाले र माओवादी केन्द्र एकता हुँदा खेरी नै दुईवटा सिद्धान्त बनायो र के भन्यो भने- अहिले हाम्रो मार्गदर्शक सिद्धान्त ‘माक्सवाद – लेनिनवाद’ हो । त्यो शान्तिपूर्ण आन्दोलन र प्रतिस्पर्धाबाट समाजवाद संभव छ भन्ने विश्वास व्यक्त गर्‍यो, त्यसपछि त्यो ‘माक्सवाद-लेनिनवाद’ लाई मार्गदर्शक सिद्धान्त मान्दै समाजवाद हासिल गर्नका लागि अबको कार्यक्रम चाँहि ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुन्छ भन्ने निष्कर्ष यसले निकाल्यो । त्यो कुरालाई स्वीकार गर्दै विगतमा हामीले भनेको जनताको ‘बहुदलिय जनवाद’ अथवा २१ औं शताब्दीको जनवाद हिजो हामीले जुन दृष्टिकोण र मान्यताहरु राख्दै आएका थियौं त्यसका सरकारात्मक पक्षहरुलाई स्वीकार गर्दै महाधिवेशनबाट फाइनल दृष्टिकोण बनाउछौं भन्ने कुरा हामीले गर्‍यौं । अब अहिले यो विषय जुन भ्रमित भएजस्तो गरी आइरहेको छ, यसको कारण चाँहि के हो भने हामीले केन्द्रीय कमिटीको तर्फबाट समसामयिक राजनीति, नेपाली समाजको वर्ग संघर्ष, चुनौती र कार्यदिशाको बारेमा विश्लेषण सहितको प्रतिवेदन बनाउनुपर्थ्यो त्यो भएन । त्यसले गर्दा आम कार्यकर्ता पंत्तिमा पनि हाम्रो कार्यदिशा के हो भन्नेमा अलमल विद्यमान रहृयो । हामीले एकिकरणताका भनेको वैज्ञानिक समाजवाद के हो ? वैज्ञानिक समाजवादमा पुग्नका लागि हामीले गर्ने कामहरु के-के हुन्, बाधक शक्ति के हो भन्नेसहितको एउटा दस्तावेज तयार हुनुपर्ने हो, त्यो हुन नसकेको स्थितिमा अहिले हामी छौं र यहि कारण नेताहरुले आ-आफ्नै हिसाबले व्याख्या गर्ने परिस्थितिको निर्माण भएको हो । कार्यदिशाकै कारण नेताहरुबीच अविश्वासको दुरी बढेको छ, यसमा बृहत मन्थनका आवश्यक पर्ने देखिन्छ ।

अब नेकपाले स्पष्ट कार्यदिशा कहिले पाउँछ ?
पार्टीको केन्द्रीय सचिवालयले त्यो दस्तावेज तयार गर्नुपर्‍यो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर पास गर्नुपर्‍यो तब मात्र दिशा स्पष्ट हुन्छ । नत्र भने यहि अलमल कायम रहन्छ । पार्टीको राजनीतिक कार्यदिशा-कार्यभार र आजको समसामयिक राजनीतिबारे अहिले चाँहि केन्द्रीय कमिटीले प्रतिवेदन तयार पारेर त्यस अनुसार चाँहि सिंगो पार्टीलाई गाइड गर्ने कुरा हो । दोस्रो चाँहि समग्र वैचारिक-सैदान्तिक दृष्टिकोणका बारेमा, जस्तो अहिले हामीले ‘जनताको जनवाद’ भनेका छौं अब त्यसलाई फाइनल्ली के भन्ने ? र भोलिका दिनहरुमा हामीले ‘माक्सवाद-लेनिनवाद’ लाई मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढ्नेक्रममा आजको कार्यक्रमिक कार्ययोजना, हाम्रा दृष्टिकोण कार्यभारहरुको अन्तिम फाइनल गर्ने त महाधिवेशनबाटै हो ।

वैचारिक मतभेदले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्‍यो र यसको असर सरकारमा पनि देखियो । यो मतभेद अन्त्यका लागि यहाँहरुले कस्तो दबाव दिईरहनु भएको छ ?
यसमा के छ भने जब पार्टी ब्यवस्थित भएर सञ्चालन हुँदैन, जब पार्टी एकताबद्ध भएर प्रस्तुत हुँदैन, लोकतान्त्रिक व्यवस्थामा जनताको प्रतिनिधि भनेकै पार्टी हुन्छ । त्यसले गर्दा मुलुकलाई एउटा दृष्टिकोणका साथ नेतृत्व गर्ने, सरकारलाई सफल बनाउने अथवा सरकारले गरेका कामहरुलाई चाँहि जनताको बीचमा पुर्‍याउने यो सबै कामको अगुवाई गर्ने भनेकै पार्टी हो । त्यसैले जब हामी समाजवाद बनाउने कुरा गरिरहेका छौं भने सबैभन्दा पहिले पार्टीलाई समाजवादी बनाउनुपर्छ । यो जिम्मेवारी पूरा नगरी, पार्टीलाई लोकतान्त्रिक बनाई, स्पष्ट दृष्टिकोणसहित बनाई, पार्टीको जीवनलाई गतिशील बनाई कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौं । त्यसैले पार्टी कमजोर हुनु भनेको सार्वभौमिकता, स्वाभिमान, सरकार-सिंगो देश कमजोर हुने कुरा हो र जनताका अपेक्षा, चाहनाहरु पूरा नहुने दिशातिर जाने कुरा हो । त्यसैले जति पनि जनतासँग गरेका प्रतिवद्धता छन् ती सबै चिज हासिल गर्नका लागि पार्टी बलियो हुनु, पार्टी सिद्धान्तनिष्ट हुनु, पार्टीचांही सहि दृष्टिकोणका साथ गतिशिल भएर अगाडि बढ्नु अनिवार्य शर्त हो । अहिले जे स्थिति भएको छ यसको छिटो अन्त्य हुन जरुरी छ । त्यसका लागि पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक हुनु तत्काल आवश्यक छ ।

पार्टी एकतामा भएको ढिलाइले नेता-कार्यकर्ता बेरोजगार भए भनिन्छ । त्यसको प्रभाव तपाईमा पनि परेको छ ?
गत वर्ष जेठ ३ मा पार्टी एकता भयो । अहिलेसम्म कुनै परिभाषित जिम्मेवारी छैन । तर, पनि पार्टीको केन्द्रीय कमिटीको सदस्यको हिसाबले पार्टीको स्थानीय तहमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने गरेको छु । जहाँ सम्झिएर साथीहरूले निमन्त्रणा गर्नुहुन्छ, ती ठाउँमा जाने र कार्यक्रममा सरिक हुने गरेको छु । परिभाषित जिम्मेवारी नभए पनि पार्टीको पक्षमै निरन्तर खटिएको छु ।

तपाईजस्ता जुझारु युवा निष्क्रय हुँदा भोलिका दिनमा पार्टीलाई कस्तो असर पर्ला ?
म मात्रै होइन मेरा समकालीन र मभन्दा धेरै सिनियर नेताहरू पनि निस्क्रिय हुनुहुन्छ । बेरोजगार हुनुहुन्छ । दुई अध्यक्ष र महासचिवबाहेक पार्टीको सचिवालयका सदस्यहरू, स्थायी र केन्द्रीय समितिका नेताहरूलगायत अन्य नेता तथा कार्यकर्ता ठूलो संख्यामा निस्क्रिय छन् । उनीहरूको एक वर्षको समय बेरोजगार भएर फजुलमा व्यतित भएको छ । यसले व्यक्तिलाई व्यक्तिगतरूपमा पनि क्षति गरेको छ । अर्कोतर्फ पार्टीलाई पनि क्षति पुर्‍याएको छ । यति ठूलो संख्या बेरोजगार र जिम्मेवारविहीन हुँदा सिंगो देशलाई समेत यसले घाटा पुर्‍याएको छ ।

यस्तो अवस्था सिर्जना हुनुमा दोषी को हो त ?
यसमा जवाफदेहिता पार्टीका मुख्य नेताको हो । त्यसमा पनि मूलरूपमा दुई अध्यक्षको जिम्मेवारी हुन्छ । पार्टीको विधानअनुसार पार्टीको सर्वोच्च अंग केन्द्रीय कमिटी भएकोले त्यसको सदस्य भएको हिसाबले कहीँ न कहीँ मेरो पनि जिम्मेवारी हुन आउला । तर, समयमा बैठक डाक्ने, छलफल गर्ने, निर्णयको लागि उपयुक्त वातावरण बनाउने, यसका लागि कमिटीहरूको बैठक बसाल्ने लगायत कामका लागि स्वभाविकरूपमा दुई अध्यक्षको जिम्मेवारी हुन आउँछ ।

अब सरकारको कुरा गरौं, यत्तिधेरै जनमत प्राप्त पार्टी एकपछि अर्को घटनाक्रमले गर्दा अलोकप्रिय हुँदै गईरहेको छ, किन ?
होइन, गतवर्ष चाँहि हाम्रो आधार वर्ष हो, अब देशलाई गति दिने दिशामा अघिबढेका छौं भन्ने बजेटले नै स्पष्ट गरेको छ । सरकारले सहि दिशा समातेको छ यसले सकारात्मक दिशामा, परिणाम दिने दिशामा अघि बढ्छौं भन्ने कुरा गरेको छ र त्यो अनुसार उसका बजेटहरु नीतिहरु प्रस्तुत भएका छन् यसले समाजमा सकारात्मक सन्देश दिएको छ । तर पनि कतिपय ऐन-विधेयकहरु पास गर्ने क्रममा पार्टीका सांसद र सरोकारवालासँग जति छलफल गर्नुपर्थ्यो त्यो भएको देखिदैन ।

यहि प्रसंगमा कुरा गर्ने हो भने, गुठी विधेयक सरकारले फिर्ता नै लियो । मिडिया विधेयक त्यस्तै छ । पार्टीभित्र त आन्तरिक छलफल नै नहुँदो रहेछ होइन ?
यसबाट चाँहि सरकारले आगामी दिनमा काम गर्ने आफ्नो तरिकामा सुधारको आवश्यक छ भन्ने मलाई लाग्छ । अहिलेसम्म सकिन्छ भनेर हामी लागेका छौं । पार्टीभित्र, पार्टीको सचिवालयभित्र, स्थायी कमिटीभित्र, तत्काल बहस गराउनुहोस, बहसलाई जोड दिनुहोस, नेता कार्यकर्ताको विचार सुन्नुहोस भन्ने दबाब बढेको छ । औपचारिक प्लेटर्फमबाट निर्णय गर्नुहोस भनेर दबाब दिइरहेका छौं । अब सच्चाउनुहुनेछ । सच्याउने वातावरणको अन्त्य हुँदैछ भन्ने अवस्था अहिलेसम्म छैन । त्यसैले सच्चिन्छ भन्नेमा हामी ढुक्क छौं । र विधेयक ल्याउँदा, राष्ट्रिय महत्वका विषयहरु संसदमा प्रस्तुत हुनुभन्दा अघि व्यापक छलफल-बहसको आवश्यकता हुँदोरहेछ, यसरी अगाडि बढनुपर्दो रहेछ भन्ने कुरा यी बीचका घटनाहरुले सिकाएको छ ।

समृद्धिलाई मूल नारा बनाएर आएको सरकारले डेढ वर्ष बिताएको छ । पाटीभित्र र बाहिर असन्तुष्टिका स्वर चर्कै सुनिएका छन् । अब कसरी सच्चिएर जानुपर्छ ?
यो सरकारले आज असफल हुने कुनै छुट छैन, किनकि हामीसँग अर्को कुनै विकल्प छैन । अरु कोही आएर यो समस्याको समाधान गरिदिन्छ भन्ने अर्को कुनै ठाँउ पनि छैन त्यसैले गर्दाखेरी यी सबै काम सञ्चालन गर्न पार्टी र सरकारको बीचमा नङ र मासुको जस्तो सम्बन्ध स्थापित हुन आवश्यक छ । त्यसको लागि सबैभन्दा पहिला पार्टीलाई जीवन्त बनाउने, संस्थागत बनाउने, पार्टीलाई गतिशिल बनाउने, नीति र विधिअनुसार चलाउने एउटा । दोस्रो सरकारले गर्ने कामहरु पनि व्यापक छलफल-बहसका माध्यमबाट प्रभावकारी ढंगले गर्ने, सरकारले ल्याएका बजेट र कार्यक्रमलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने, भ्रस्टाचार, कमिशनतन्त्र, घुसखोरीलाई निस्तेज गर्ने र सम्पूर्ण चिजहरु सरकारले पारदर्शी ढंगले देश र जनताको पक्षमा दृढतापूर्वक उभिने गरी अगाडि बढ्नुको विकल्प छैन ।

अन्त्यमा, जापानमा बस्नु भएका नेपालीहरुका लागि के भन्नुहुन्छ ?
मलाई लाग्छ, धेरै नेपाली दाजुभाइ-दिदिबहिनीहरु जापानमा हुनुहुन्छ । आफ्नो पेशा-व्यवसाय विभिन्न कामहरु गरेर त्यहाँ रहनुभएको छ । उहाँहरुको भौतिक शरिर जापानमा छ तर, मनमस्तिष्क सबै नेपालमा भएको हामी देखिरहेका छौं । देशप्रेमबाट ओतप्रोत हुँदै परिस्थितिका कारण त्यहाँ रहनु भएको छ, तपाईहरुको जापान बसाई सुखद् रहोस् । र सँगसँगै तपाईहरुले विदेशमा रहँदा पनि जुन देशप्रेम व्यक्त गरिराख्नु भएको छ त्यो जिम्मेवारी पूरा गर्नका लागि हामी प्रयात्नशिल छौं, नेपाललाई सुखी-समृद्ध बनाउन तपाई हामी सबै एकतावद्ध भएर अघि बढौं म यहि भन्न चाहन्छु ।***

तपाईको प्रतिक्रिया