गायक प्रकाश सपुतको गलबन्दीको उर्लदो क्रेजसंगै यसले नेपाली साँगीतिक बजारमा नयाँ विवाद पनि उत्पन्न गर्यो । बितेका केही हप्ता गलबन्दीकै बिषयमा ध्रुविकृत अभिब्यक्तिहरुले सामाजिक सञ्जाल रंगिए । पुराना पुस्ताका गायक, संगीतकार शम्भु राईले आफ्नो एउटा पुरानो गीतसंग गलबन्दीको लय मिलेको दावी गर्दै आफुमाथि अन्याय भएको धारणा बाहिर ल्याए । यता प्रकाशले भने राईले दावी गरेको उक्त गीत नै आफुले नसुनेको अभिब्यक्ति दिए ।
यसै सन्दर्भमा बिषयलाई आवश्यकता भन्दा बढि विवादमा तन्काउने काम मिडिया जगत र सञ्जालका प्रयोगकर्ताहरुबाट हुन गयो । हुँदा हुँदा दुवै पक्षका सञ्जाल प्रयोगकर्ताहरु निम्नकोटीका भाषा र गालीगलौजमा उत्रेर परिस्थितिलाई थप उत्तेजित बनाउने काम भयो । साम्प्रदायिक कुण्ठाका बिषय समेत उठाएर बिषयलाई अझ संवेदनशील र पेचिलो बनाउने कामहरु भए । यो घटनाबाट प्रष्ट हुन्छ कि हामी नेपालीको चेतनाको स्तर, हामी बसेको समाज र हाम्रो नेपाली साँगीतिक क्षेत्रको अवस्था कस्तो छ भनेर । उक्त क्षेत्रलाई प्रतिनिधित्व गर्ने दर्जनौ संघसंस्थाहरु भएता पनि यस बिषयलाई निकास दिन कतैबाट संस्थागत पहल गरिएको देखिएन । संस्थागत मध्यस्थकर्ताको भूमिकामा जति हुनुपर्ने हो त्यति सक्रियता समयमै भएन । नियामक निकायको टड्कारो खडेरी देखियो । मिडिया र सामाजिक सञ्जाल पनि सत्यतथ्य र संगीतको कखरा नबुझिकन भिडकै पछि कुदेको देखियो । समयमै यसको उपचार हुन सकेको भए त्यति धेरै तनाव कसैलाई हुने थिएन । अन्ततः विवादित सिर्जनामा गायक राईको पनि अपनत्व जोडिने तर आर्थिक लाभको हक नहुने सहमतिमा विवाद सल्टाईएको छ । जे होस् यस घटनाबाट सम्बन्धित सबै पक्षले एउटा गतिलो पाठ सिक्न सक्नुपर्दछ ।
नयाँ प्रयोगका नाममा गरिने अनेकन तिकडम र साँगीतिक क्षेत्रका नयाँ पुस्तामा देखिएको हुटहुटी हेर्दा ढिलाचाँडो यो खालको घटना अपेक्षित नै थियो । तोडमोड गरेर नयाँ लेपनमा सिर्जना उत्पादन गर्ने सँस्कार नेपाली साँगीतिक बजारमा भित्रिएको अहिले होईन, धेरै पहिलेदेखि हो । तर विडम्वना सरोकारवला संघसंस्था वा निकायको खासै ध्यान जान सकेको देखिदैन । यस क्षेत्रलाई समुचित व्यवस्थापन गर्न सरोकारवलाहरुबीच प्रशस्त बहस, गृहकार्य र अध्ययन हुनु जरुरी छ । त्यसबाट निस्कने सारलाई निर्देशिका तथा नियमावली जस्ता दस्तावेज तयार गरी नियम र अनुशासनमा बाँधिने वातावरण सिर्जना गरिनुपर्दछ । अझै पनि त्यतातिर ध्यान नदिने हो भने समान प्रकृतिका घटना फेरि नदोहोरिएला भन्न सकिन्न । अब त झन कसलाई कहाँनेर अंकुश लगाएर दु:ख दिन सकिन्छ भन्ने सबैले भेउ पाईसकेको अवस्था छ ।
यसप्रकारका सार्बजनिक चासोका बिषयमा आगोमा घिउ थपेर थप अतिरञ्जित र सनसनीपूर्ण बनाउनमा मिडिया र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको भूमिका अहम रहँदै आएको छ । समाजका हरेक सदस्य एक्काईसौं शताब्दिको नागरिक चेतसहित जिम्मेवार ढंगले प्रस्तुत हुन सके आकाशै खसेको र धर्ती नै भासिए सरह नेपाली समाजमा एकपछि अर्को कोकोहोलो मच्चिने थिएन । हामीले बिकसित मुलुकको समुदायबाट पनि सिक्न सकेनौ । पछिल्ला समयमा एकपछि अर्को गर्दै आईरहेका बिषयवस्तु र प्रकरणका प्रकृति हेर्दा नेपाली समाजमा शालिनता, विनयशीलता, नम्रता एवं भद्रता हराउँदै गएको संकेत गर्दछ । यो निश्चय पनि दुःखको बिषय हो । समृद्धिको यात्रामा हिडेको मुलुकका नागरिकका लागि यो पक्कै सुहाउने बिषय होईन ।
शम्भु राईजस्ता नेपालका एक साँगीतिक हस्ती र प्रकाश जस्तै चम्किला प्रकाश सपुतलाई मैदानमा उतारेर कुस्ती लडाउने अनि रमिता हेर्ने काम जो गरियो, त्यो शोभनीय थिएन । गल्तीबाट सिकौं, आत्मालोचना गरौं तर विनयशीलता र हार्दिकताको घेरा कसैले नतोडौं ।