Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

झिसमिसेमै मोवाइलमा अलारामको घन्टी बज्छ । कहिलेकाँही त दुईचार दिनसम्मै रात मात्रै भईदिए हुन्थ्यो भन्ने गुनगुनाउँदै ब्युँझने प्रयास गर्छु, बाहिर चराहरु चिरबिर चिरबिर गर्दैथिए । शायद उनीहरु आफ्नै भाषामा हामीलाई सम्झाउँदै थिएहोलान् – ’कति सुत्छौ हे नेपाली हो ? सँधैको लागि सुत्न त बाँकी नै छ, जापानीहरु आधा शताब्दीमा कहाँको कहाँ पुगिसके, यस्तो देशमा आएर केही त सिक, यहाँ तिमीहरुले कमाउन भन्दा सिक्न जरुरी छ ।’
हुन पनि हो हामी नेपालीहरु आफै नजान्ने, अरुले भनेको पनि नमान्ने र सिक्न र सिकाइ माग्न पनि पटक्कै नचाहने स्वभावका छौं भन्दा कत्ति लाज मान्नुपर्दैन । यस्तै यस्तै कुरा मनभरि खेलाउँदै बिहानको नित्यकर्मतिर लाग्छु । हरेक दिन केही समय ब्यायाम र केही समय मर्निङ वाक अनि नुहांईधुवांई पछि हल्का नास्ता गरेर त्यो दिनको काममा समयममै पुग्न सके भने दिनभर ताजगी भएको महशुस हुन्छ ।

दैनिकी टिपोट पल्टाएर हेर्दा त्यो दिनमा केही जापानी मित्रहरुसंग भेटघाट, केही मिटिङ र अरु नियमित कार्यसम्पादन नै थिए । हामी बिहानदेखि रातीसम्म जापानलाई हेर्दै, बुझ्दै, छाम्दै र भोग्दै आएको वर्षौ भईसक्यो, हामीमा थोरैमात्र भए पनि परिवर्तन ल्याउन सक्ने हो भने हाम्रो जीवन मात्रै नभएर समाजमै धेरै सुधार आउन सक्नेथियो । उनीहरु समयको ब्यवस्थापन लोभै लाग्ने किसिमले कुशल ढंगले गरेका हुन्छन् । अति ब्यस्त हुन्छन् र पनि आफुलाई ब्यवस्थित राखेका हुन्छन् । एकजना मोटिभेटर ट्रेनरले एउटा कार्यक्रममा भनेका थिए – ’ब्यवस्थापनले धेरै देश उभों लागेका उदाहरण मात्रै छैनन् बेवास्तापनले धेरै देश पछाडि परेको उदाहरण पनि छन्, जसमध्यमा नेपाल र नेपाली समाज पनि एक हो ।’ हामी ब्यस्त मात्रै होईन, सँधै अस्तब्यस्त हुन्छौं, त्यसकारण अब्यवस्थित हुन्छौं । यसले आफ्नो जीवनमा पार्ने प्रतिकुल प्रभाव त सबैले जानेभोगेकै हो ।

सानोतिनो कामका लागि पनि पूर्व जानकारी गराएर तोकिएकै समयमा पुग्ने, सम्बन्धित बिषयमा अध्ययन गरेर मात्र पूर्व तैयारीका साथ भेटघाट वा मिटिङमा सहभागी हुने, आवश्यक कागजपत्र तथा तथ्य-तथ्याङ्कसहितको सामग्री सहित प्रस्तुत हुने, औपचारिक गेटअपमा सफाचट भएर निस्कने जस्ता जापानीहरुको सँस्कार अणुकरणीय छन् । हामी नेपालीले सिक्नैपर्ने पहिलो स्टेप यहि हो जस्तो लाग्छ । अरुको निजी मामिलामा खासै चासो नराख्ने, अरुबाट पनि त्यहि अपेक्षा गर्ने, अरुका बारेमा नकरात्मक टिकाटिप्पणी नगर्ने, अनावश्यक बिषयमा प्रवेश गर्न नचाहने, आफ्नो काम र कर्मक्षेत्रलाई प्रधान बिषयमा राख्ने जापानीहरुका सँस्कार हेर्दा मानव सभ्यताको बिकासका दृष्टिले हामीभन्दा सयौं वर्ष अगाडि छन् जस्तो लाग्छ ।

भेटघाटका क्रममा जापानको प्रतिष्ठित मिडिया हाउसका एक जना पत्रकार मित्रले भनेका थिए – जापान आएका नेपालीहरु मध्य अधिकाँशको लक्ष के हो ? देश बिकासको चिन्ता हो भने जतिसुकै संघर्ष गर्नुपरे पनि आफ्नै देशमा बसेर सकेको योगदान गर्नुपर्ने, राजनीतिको झोला बोक्ने हो भने पनि देशभित्रै बसेर गर्नुपर्ने, ब्यक्तिबिकास हो भने बिदेश आएर देशको लागि आफुले सिन्को नभाँच्ने देशतिर धारे हात लगाएर यो भएन त्यो भएन भन्नुको औचित्य के ? संवादमा सहज होस् भनेर मैले मिलाएर जबाफ दिएँ – बिदेशमै भएपनि देशको चिन्ता हुनु स्वभाविक हो, यता सिकेको सीप, अनुभव र दक्षता उता उपयोग गर्न, स-साना पूँजीलाई एकत्रित गरी समुहमा मिलेर लगानी गरी रोजगारी बढाउन बिदेशमा नेपालीहरुको सक्रियता स्वभाविक छ । तथापि आफुले सिक्नैपर्ने, गर्नैपर्ने प्रधान बिषय असरल्ल छोडेर अन्य सहायक बिषयमा अलमलिनु हुँदैन, जुन भईरहेको छ । ती जापानी मित्रको भित्री आशय मैले यस्तै बुझें ।

कहिलेकाँही लाग्छ, हामी हुर्केको सँस्कार गलत छ, हाम्रो दिमाखमा नेपाली सँस्कारको यस्तो पावरफुल सफ्टवेयरले काम गरिरहेको छ कि जतिसुकै कोशिस गरे पनि हामी अन्यत्रका राम्रा सँस्कार ग्रहण गर्न तयार छैनौ । जापानीहरु चाहान्छन् उनीहरुको देशमा बसेपछि विदेशीहरु पनि उनीहरुसंग संभव भएसम्म मिल्दोजुल्दो भएर घुलमिल भएर बसून्, उनीहरुलाई अस्वभाविक लाग्ने र असहज महशुश हुने क्रियाकलाप नगरुन् । तर उनीहरु जे चाहान्छन् उनीहरुकै देशमा बसेका हामी विदेशीहरु त्यहि बिषयलाई त्यति ध्यान दिईरहेका हुँदैनौ । हाम्रो शरीर र कोठाबाट निस्कने गन्धदेखि फोहरमैला ब्यवस्थापन, सरसफाई, दैनिक जीवनका चालढाल, समयसिमा, ठाउँ-कुठाउँ बिषय-प्रसंगको बेवास्ता गर्दै नेपाली पारा देखाएरै छोड्छौं । हुन त जसले जति जानेको छ, त्यहि औकात देखाउने हो ।

सामान्य भन्दा सामान्य बिषयमा पनि हामी आफ्नो पछौटेपनको प्रदर्शन गरिरहेका हुन्छौं । आफ्नो कामले अरुलाई फोन गर्छौ आफ्नो नाम बताउन मरेजत्तिकै मान्छौं, बताईहाले पनि कि त टाउको मात्रै भन्छौं कि त पुच्छर मात्रै, अनि अर्को पक्षले आफु कोसित कुरा गर्दैछु भनेर कसरी थाहा पाउने अनि मुल बिषयमा कसरी प्रवेश गर्ने ? जापानीहरु अरुलाई फोन गर्दा सबैभन्दा पहिले आफ्नो परिचय दिएर मात्र मुल बिषयमा प्रवेश गर्ने गर्दछन् त्यति मात्रै भए पनि हामी नेपालीले सिक्न सकेमा धेरै उपयोगी हुने देखिन्छ ।

एकजना मित्रले आफ्नो व्यवसायका लागि स्टाफ चाहियो भनेर आफ्नो सम्पर्क नंवर दिएर विज्ञापन राखेका थिए, उनलाई दिनहुँ दर्जनौ फोन आएर हैरान भएछ । फोन गर्नेहरु अधिकाँशले आफ्नो नाम बताउनु त परै जाओस् उल्टै साहुलाई अन्तरवार्ता लिंदा रहेछन् । जापान आएको कति वर्ष भयो, कति जना स्टाफ छन्, उनीहरु कतातिरका हुन्, ब्यापार कस्तो छ, कतिवटा रेष्टुरेन्ट छन्, वर्षभरिमा कति कमाई हुन्छ जस्ता प्रश्न गरेर उल्टै दिक्क बनाएको गुनासो गर्दैथिए ती मित्रले । यसबाट पनि प्रष्ट हुन्छ कि हाम्रो चेतनाको स्तर कति छ र हामी जापानमा भएपनि जापानबाट आधारभुत म्यानर सिक्न बाँकी छ ।

अति नकारात्मक सोच पालेर बस्ने हाम्रो मानसिकता अर्को महारोग हो । यसले कसैलाई फाईदा गर्दैन । समाज सबैको साझा घर हो । साझा घरमा मिलेर बस्न सबै आ-आफ्नो मर्यादामा बस्न आवश्यक छ । सकारात्मक सन्देशले मान्छेलाई दिनभर ऊर्जा र प्रेरणा दिन्छ, मेलमिलाप, भाइचारा र सौहार्द्रता बढाउँछ । आजका जिम्मेवार ब्यक्ति जिम्मेवार ढंगले प्रस्तुत हुन सके नयाँ पुस्ताले पनि भोलि त्यहि सिको गर्ने न हुन् ।

जापानका हरेक सरकारी कार्यालयहरु वा अन्य निजी क्षेत्रका सार्बजनिक निकायमा कुनै पनि बिषयमा नयाँ आवेदन भर्नुपर्दा आफ्नो ठेगाना अनिवार्य लेख्नुपर्छ त्यो पनि जापानीमै नलेखी नहुने थुप्रै अवस्था आउँछन् । जसका कारणले मात्रै पनि धेरैभन्दा धेरै नेपालीलाई दिनदिनै आत्मग्लानी र सास्ती भोग्नुपरिरहेको यथार्थ हाम्रो सामु छ । त्यसकारण आफ्नो ठेगाना मात्रै भएपनि जापानी भाषामा लेख्न सक्ने हुने हो भने जापानको बसाईलाई धेरै हदसम्म सहज बनाउन सकिन्छ । तर सिक्नैपर्ने सामान्य आफ्नो ठेगाना कसरी सिलसिलेवार र आधिकारिक ढाँचामा लेख्ने त्यसको हेक्का राख्न हामी आवश्यक ठान्दैनौ, बरु फुर्सदमा घन्टौसम्म सामाजिक सञ्जालमा झुण्डिएर वा तांई न त तुंइको स्टाटस लेखेर लाईक र कमेन्ट गनेर समय खेर फालिरहेका हुन्छौं । किनभने हामी नेपाली हौं, हामीमा सिक्नुपर्छ भन्ने सँस्कार नै भएन, जे जति जाने-बुझेका छौं त्यहि नै पर्याप्त छ भन्ने आत्मकेन्द्रित मानसिकताले हामी औसत नेपालीहरुमा गहिरोसंग जरो गाडेको छ ।

जापान हाम्रा लागि पाइला पाइलामा सिक्न सकिने देश हो । आज हामीले सिके भोलि अरुलाई सिकाउने हैसियतमा जरुर पुगिने छ । विश्वविद्यालयको पाठ्यपुस्तकमा पढ्न नपाईने तर जीवन भोगाईका क्रममा असाध्यै काम लाग्ने सामान्य भन्दा सामान्य तर महत्वपूर्ण ब्यवहारिक ज्ञान जापानी समुदायबाट सिक्न सकिन्छ । जे सिक्दा पनि खेर जाँदैन, जस्तै उदाहरणका लागि – फोनमा कसरी बोल्ने, कपडा कसरी सुकाउने, सार्बजनिक यातायातमा अनुशासित कसरी हुने, विधि पुर्‍याएर आफ्नो परिचय कसरी दिने, संवादकला कसरी बढाउने, सामान्य तर आफुलाई उमेर र शारीरिक बनावट अनुसार सुहाउने कपडा र रंग कसरी छनौट गर्ने, समयको ब्यवस्थापन कसरी मिलाउने, अभिवादन, क्षमायाचना, सिनियरजनप्रतिको आदरभाव, जुनियरहरुप्रति प्रेमभाव कसरी प्रकट गर्ने, छिमेकीहरुसंगको सम्बन्ध कसरी सन्तुलित राख्ने जस्ता बिषयहरु दैनिक जीवनमा अत्यन्त गहन अर्थ राख्ने पाटो मानिन्छ । त्यसकारण जति सकिन्छ जापानबाट सिकौं । ***

तपाईको प्रतिक्रिया