प्रत्येक नेपालीको चाहना छ, जीवन सहज बनोस्, खान, लाउन र स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै अथवा गर्नै नपाई जीवन टुंगिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । समृद्ध नेपाल नारामा जति सहज छ, समृद्ध बन्नका लागि धेरै कुराको समिकरण मिल्नु आवश्यक देखिन्छ । कुनै पनि समाज र राष्ट्र बिकासको अति आवश्यक आधार भनेकै त्यस समाज वा राष्ट्रका चेतनशील नागरिक हुन् । कुनै पनि राष्ट्रमा समृद्धि हासिल गर्न सर्बप्रथम त नागरिकमा चेतना स्तरको बिकासको आवश्यक पर्दछ । नागरिकस्तरबाट धेरै कुरा संभव छ । जुन सिंगो राज्य व्यवस्थाले धेरै मेहनत गर्दा असंभब कुराहरु नागरिकले स्वतस्फुर्त गर्न सक्छन् । प्रष्ट अभिव्यक्ति, गलत कुराको बिरोध, नेताहरुलाई खबरदारी, राम्रो कामको प्रशंसा, अन्यायको बिरोध, पारदर्शितामा जोड, रहनसहन, बोलीचालीमा नम्रता यी र यस्ता कुराहरु नागरिक स्तरबाट लागु गरिने हो भने समाजमा धेरै सुधार देख्न पाईन्छ । सुन्दर समाजको निर्माण नै समृद्धिको पहिलो पाईला हो ।
भ्रष्ट राज्य प्रणालीको भण्डाफोर, सहि व्यक्ति सहि ठाउँमा अनि सहि योजनाको उचित कार्यान्वयनलाई जनताकै सक्रियतामा सहि मार्गमा लैजान सकिन्छ । आवश्यक परेको खण्डमा भण्डाफोर गर्न सकिन्छ ।
यदि यो संभब हुने हो भने एउटा उत्कृष्ट समाज निर्माण संभव हुन्छ, समाजले कुन दिशा लिदैंछ भन्ने तय पनि चेतनशील नागरिककै हातमा हुन्छ, र त्यसबाट एउटा सक्षम नेतृत्वको बिकास हुन्छ, हो वास्तविक रुपमा २१ औ शताप्दीमा अबको नेतृत्व युवा वर्गले लिनुपर्दछ । सामाजिक रुपमा एउटा सँस्कारको बिकास गर्न सक्नुपर्छ जसले गलतलाई खबरदारी गरोस् ।
अर्को कुरा बिकास निर्माण अथवा हरेक क्षेत्रमा किन नहोस् फष्टाएको भ्रष्टाचार हो यसलाई न्युनिकरण गर्नका लागि बिशेष व्यवस्था अबलम्बन गर्नु आवश्यक हुन्छ । त्यसका लागि कर्मचारी प्रमुख देखिन्छ । उनीहरुलाई दिईने पारिश्रमिक प्रमुख कारक बन्छ । यसलाई दुईगुणा वा चौगुणा बढाएर किन नहोस्, उनीहरुलाई दैनिक जीवन यापनलाई सहज गराउने वातावरण सिर्जना गर्ने अनि सोहि अनुसार काम लिने र कडाई गर्ने गर्नुपर्छ । उदाहरणका लागि एक प्रहरी जवानको तलब १७ हजार हुन्छ उ चौविसै घण्टा राज्यको मातहतमा रहन्छ तपाई आफै सोच्नुहोस् उसले कसरी आफ्नो श्रीमती बच्चा सहज पाल्न सक्छ ? राज्यले ध्यान दिने यस्ता बिषय हेर्दा सूक्ष्म लागेता पनि यसले दीर्घकालिन असर गरिरहेका हुन्छन्, यसले बिभिन्न नकारात्मक बिषयहरुलाई उत्पादन गरिरहेका हुन्छन । जबसम्म नेतृत्व गर्नेले आफु अलगै ग्रहबाट आएको जस्तो महशुस गर्न छाड्दैनन्, जबसम्म नेतृत्व म नेता हुँ भन्ने दम्भ त्याग्न सक्दैनन् तबसम्म हामीले कुनै नयाँ अपेक्षा गर्न सकिदैन । अहिले सानो समाज, राजनैतिक पार्टी अथवा राष्ट्र्रकै अवस्था हेर्ने हो भने नेता र कार्यकर्ता बीचको सम्बन्ध राजा र प्रजाबीचको जस्तो छ, यो कुरालाई चिर्न जबसम्म सकिदैन तबसम्म नयाँ केहि अपेक्षा गर्न सकिदैन, हो जनताको बीचमा नेताले म यिनीहरुकै सामाजिक सेवक हो भन्ने सोच जब पैदा गर्दैन तबसम्म यो अन्तर भै रहन्छ । खास नयाँ अपेक्षा गर्न पनि सकिदैन ।
पछिल्लो समय देखिएको नेताहरुले चुनाबको अघि बाँड्ने गरेको समृद्धि र चुनावपछि उनीहरुको व्यवहार परिवर्तन नहुने हो केहि परिवर्तन हुन्छ भन्नु बेकारका कुरा हुन् । राज्यले समान नीति अबलम्बन गर्नु आवश्यक छ, विभेदकारी नीतिमा जबसम्म राज्य हिड्छ तबसम्म समृद्धिको नारा केवल नारामा मात्र सीमित रहन्छ, अहिले देखिएको नेपालको बिकास शक्तिकेन्द्र वरिपरी यसलाई राज्यले नीतिगत रुपमा नै इमान्दारी जबसम्म देखाउँदैन तबसम्म कुनै ठोस परिवर्तनको महशुस जनताले गर्न पाउँदैनन् ।
जनहितमा राज्यले व्यक्ति र समाज दूवै बीच सन्तुलन, सहअस्तित्व, सहकार्यको वातावरण सिर्जना गर्नुपर्दछ ।
समृद्धि त्यसै नारामा मात्र रटेर आउने चिज होईन, यसका लागि व्यक्तिदेखि राज्य उत्तिकै जिम्मेबार बन्न सक्नुपर्दछ, यसमा व्यक्ति, समाज, सरकार अनि राज्यमा सबैले आ-आफ्नो स्थानबाट सकारात्मक हस्तक्षेप गर्ने हो भने समाज रुपान्तरण हुँदैं जान्छ यसले गर्दा एकातिर नागरिकहरु जिम्मेवार बन्दै जान्छन् भने अर्कोतिर नेतृत्व जवाफदेहीसंगै उत्तरदायी बन्न बाध्य हुन्छन् ।
जनस्तर देखिनै यसलाई महशुस गर्नेगरी समाज परिवर्तनको बाटोमा लम्कने दिशामा जानका लागि हामी भित्रैबाट यो बाटो अवलम्वन गरिनुपर्दछ ।
यस्तो भयो भने एकातिर कर्मठ समाज समृद्धिको मार्गमा लम्कन्छ भने अर्कोतिर जनता नागरिक स्वतन्त्रताको ढुक्क भई उपयोग पाउँछन् । अर्कोतिर सँधै समस्यामा पारिरहने होईन, सँधै सरकारको बिरोध मात्र गर्ने जुन परम्परा छ, आफु बाहेक बाँकी भ्रम देख्ने जुन सँस्कार छ, त्यस्तो मनासिकता राजनैतिक दलहरुले पनि त्याग्नुपर्दछ । राजनैतिक दलहरुले राज्यको राम्रो कामलाई तल्लो स्तरसम्म पुर्याउन चेतना फैलाउने, खबरदारी गर्ने काम गर्नुपर्छ । तर बिगत त्यो देखिएन भ्रष्टाचारको अखडा राजनैतिक दल पार्टीहरु बन्नु दूर्भाग्य हो हाम्रा लागि ।
विदेशिएका युवा शक्ति जसको रेमिट्यान्समा राज्य रमाईरहेको अवस्था छ, यसले राज्यको ठूलो अर्थतन्त्र धानेको छ, अब राज्यले नीतिमा परिवर्तन ल्याउनु जरुरी छ, विदेशिएका नेपालीलाई साँच्चिकै नेपाल फर्काउने प्रेरणामुलक कार्यक्रम ल्याउनुपर्छ । न कि नारामा मात्र सीमित, उदाहरणका लागि विदेशबाट नेपाल फर्केका युवाहरुलाई उद्योग, व्यवसाय गर्नका लागि ऋण उपलब्ध गराउने भन्ने अहिलेको योजना छ, त्यो हुनेखाने टाँठाबाठालाई मात्र देखिएको छ । अहिले सामाजिक सञ्जालमा यसको चर्को विरोध भईरहेको पाईन्छ । तसर्थ यो बिषयलाई साँच्चिकै प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमहरु बढाईनु आवश्यक छ ।
राज्यले नीतिमा परिवर्तन गरेर मात्र होईन, समान नीति लागूसंगै सर्बसाधारण जनता पनि जिम्मेवार बन्दै तल्लो निकायबाट यसलाई अंगिकार गर्ने वातावरण सिर्जना बनाईनुपर्छ । त्यसका लागि सबै समान जिम्मेवार छौं भन्ने महशुस गरौं ।
नेताले चुनाब अघिसम्म समृद्धिका नारा लगाउने जनता त्यसैको पछि हिड्ने सँस्कारको अब तपाई हामीले अन्त्य गरौं । नेतालाई जनताको सेवकको रुपमा स्थापित हुने वातावरण सिर्जना गरौं ।अन्तमा, नेपाली नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ’बन्छ देश समद्ध, हाम्रै पालामा’
(लेखक पन्त गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष हुन्)