सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट पीडित गरिएको राहत वितरण भद्रगोल भएको छ।

संघीय र प्रदेश सरकारले घोषणा गरेको राहत रकम आइपुग्न समय लागे पनि विभिन्न निजी क्षेत्रका व्यक्ति तथा संस्थाले वितरण गरेको राहत व्यवस्थित हुन सकेको छैन।

घरबारविहीन र आफन्त गुमाएका पीडितले समान तरिकाले लत्ताकपडा तथा खाद्यान्न पाउन सकेका छैनन्। खुला आकाशमुनि बस्न बाध्य पीडितहरुलाई अहिले राहत बाँड्ने भनेर विभिन्न सामाजिक संस्था, प्रतिष्ठान, सहकारी, बैंक तथा क्लबहरु पुगेका छन्। तर उनीहरुलाई बाँडिएको सामान अस्तव्यस्तता देखिएको छ। सोमबार र मंगलबार दिनभरि २ दर्जनभन्दा बढी संस्थाले प्रभावित गाउँमा पुगेर झुल, औषधि, शुद्ध खानेपानी वितरण गरिरहेका छन्।

पर्साको जगरनाथपुर, बाराको खुटवा, भलुही, भरवलिया, गछियाटोला, विनबलिया र पुरैनियामा दाताहरु पुगे पनि त्यो व्यवस्थित हुन नसकेको पीडितहरुले गुनासो गरेका छन्।

घर भत्केर ओत लाग्ने ठाउँ नभएको र आफूले त्रिपालसमेत नपाएको बताउनेको पीडितको संख्या गाउँमा दर्जनौं छ। भरवलियाकी असमतिया देवीले एक थान झुलसमेत कसैले नदिएको गुनासो गरिन्।

बाराको जितपुर सिमरा १० बलुवा बेहराका स्थानीयले गाउँमै आपसमा चन्दा उठाएर चामल, दाल, आलु, चाउचाउ, भुजा र कपडा लिएर आएका थिए।

तर, उता भरवलियामा मंगलबार साँझ ५ बजेसम्म कतिपयले पीडितहरुले नुनसमेत पाएका थिएनन्।

‘हावाले सबै थोक लग्यो, एउटा लोटा पनि छोडेन, यस्तोमा हामीलाई सबै थोकको खाँचो छ,’ ७० बर्से स्थानीय दरोगा राउतले भने, ‘सबैलाई कमी छ, जसले सक्यो त्यसले लियो, नसक्नेले पाएनन्।

वीरगन्जबाट अण्डा लिएर बाँड्न पुगेको एउटा सहयोगी टोलीको अण्डा खोसाखोस भएको थियो। राहत बाँड्ने संस्थाहरुले मनपरी ढंगले बाँडेको पीडितहरुले आरोप लगाएका छन्।

सिप्रदी एण्ड सहायता संस्थाले बारा र पर्सा गरी २ सय ६५ परिवारमा २५ किलोको एक बोरा चामल, दुई किलो दाल, २ किलो खाने तेल, एक किलो नुन र एक पोका बेसार प्रतिपरिवारलाई बाँडेको छ। ‘हामीले स्थानीय प्रसाशनसँग समन्वय गरेर बाँडेका हौं, जहाँ बढी जरुरी देख्यौं त्यहीँ बाँडेका छौं,’ सिप्रदी प्रालिका वीरगन्ज शाखा प्रबन्धक गोपाल आचार्यले भने, ‘पर्साको जगरनाथपुरमा पैसठी घरपरिवारलाई, बाराको चैनपुरमा सय परिवारलाई र भलुहीमा सय परिवारलाई हामीले यसै दरले राहतका सामान बाँडेका छौं।’

राहत बाँड्न नेपाली सेनाको टोलीले सघाएपछि बल्ल सिप्रदीले भरवलियामा उक्त सामग्री वितरण गर्न सकेको थियो।

तपाईको प्रतिक्रिया