शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

यहि चैत १५ र १६ गते राजधानी काठमाडौंमा लगानी सम्मेलन हुँदैछ । विदेशी लगानी आकर्षण गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । यसका लागि अन्तिम तयारी भईरहेको छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको संयुक्त आयोजनामा लगानी सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत स्वदेशी र विदेशी गरी ५ सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । हालसम्मका तयारी हेर्दा लगानी सम्मेलन सफल हुने र यहाँ भएका लगानीका अवसरलाई विश्वभरका मुख्य लगानीकर्ताबीच परिचित गराउनमा सफल हुने अपेक्षा आयोजक पक्षको रहेको छ ।

सम्मेलनका क्रममा लगानीकर्तासँग आर्थिक रूपान्तरणका लागि ऊर्जा, यातायात पूर्वाधार, कृषि, शिक्षालगायत नौवटा सत्र सञ्चालन हुने भएका छन् । यी छलफलमा विदेशी लगानीकर्ताले नेपालमा लगानीका लागि अवसर र संभाव्यताको प्रत्यक्ष मूल्याङ्कन गर्न पाउने छन् । अन्यत्रभन्दा उपयुक्त वातावरण दिन सके लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुने विश्वास गरिएको छ ।
तथापि सम्मेलनको पूर्वसन्ध्यामा देशमा फेरिएको राजनैतिक घटनाक्रमले भने प्रत्यक्ष अप्रत्यक्षरुपमा सम्मेलन प्रभावित हुने देखिएको छ । सरकारले अप्रत्याशितरुपमा सीके राउत समुहसंग गरेको ११ बुंदे समझदारी र यसबाट उत्पन्न तरंग, शंका, उपशंका तथा बिरोध र समर्थनका बाछिटाले सकारात्मक भन्दा नकारात्मक असर पर्ने देखिन्छ भने विप्लव नेतृत्वको माओबादीमाथि लगाईएको प्रतिबन्धले सरकारको आलोचना हुनुका साथै र्सबसाधारणमा त्रास फैलाईदिएको छ ।

सर्बत्र आशाको आँखाले हेरिएको लगानी सम्मेलनको जति हुनुपर्ने हो त्यति पर्याप्त गृहकार्य हुन नसकिरहेको टिप्पणी भईरहेकै बेला देशमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमले गर्दा विदेशबाट जाने संभावित लगानीकर्ताहरुको उत्साहमा मनोवैज्ञानिक असर पर्न सक्ने अड्कलबाजी गर्न थालिएको छ । अन्तर्राष्ट्रिय स्तरको यसप्रकारका सम्मेलन आयोजना भईरहँदा वातावरणमा प्रतिकुल असर पर्ने खालको गतिविधि हुन नदिन सरकारले हदैसम्मको सावधानी अपनाउनुपर्ने देखिन्छ । तर प्रतिबन्ध लगाएको कारण बदलामा कुनै पनि बेला बिद्रोही समुहबाट हुन सक्ने संभावित घटनाको त्रासले सम्मेलनमा धेरथोर असर भने पर्ने देखिन्छ । यस कारण पनि विदेशी पाहुनाहरु बोलाईएकै समयमा घरेलु वातावरण बनाउन नसकेको आरोप सरकारलाई लाग्न सक्ने देखिएको छ । तसर्थ राष्ट्रियहितकै लागि गरिएको भएता पनि पछिल्ला घटनालाई हेर्दा गलत समयमा गरिएका सरकारको निर्णयले सरकारलाई नै बेफाईदा हुने विश्लेषण गर्न थालिएको छ ।

उपयुक्त वातावरण दिनसके नेपालमा विदेशी लगानी आउन सक्ने संभावना प्रशस्त छ । यसका लागि ऐन, कानुनमा समयानुकूल सुधारको आवश्यकता छ । वैदेशिक लगानीलाई प्रोत्साहन हुने गरी ऐन, कानुन र नियमनकारी प्रबन्धमा सुधारका कामहरु यथाशीघ्र सम्पन्न गर्नुपर्छ । राजनीतिक स्थिरताका कारण यस समयमा विदेशी लगानी भित्र्याउने सबैभन्दा राम्रो अवसर हो । प्रक्रियागत झमेलाहरू व्यवस्थित गरी संभावित अवसरलाई लगानीकर्ताबीच सहज पुर्‍याउने व्यवस्था गर्ने हो भने नेपाल विदेशी लगानीको प्रमुख गन्तव्य मुलुक बन्न सक्ने बलिया आधारहरु छन् ।
विदेशी लगानीकर्ताहरु दया-मायाले नेपाल जाने होईनन् । विदेशी लगानी भित्र्याउनका लागि विश्वभरि प्रतिस्पर्धा चलिरहेको समयमा उपयुक्त वातावरण र उच्च मुनाफाको अवसर भएमा मात्रै विदेशी लगानी नेपाल जाने हुन् । यो विषयलाई सरकारले उच्चतम ध्यानमा राखी सम्मेलनलाई सार्थक र उपलब्धिमुलक बनाउन सक्नुपर्दछ ।

दुई वर्ष अगाडि पनि यसरी नै उत्साह र उमंगका साथ भएको लगानी सम्मेलनमा थुप्रै प्रतिबद्धताहरु नआएका होईनन्, तर समयक्रमसंगै ती सबै ओझेल पर्दै गएको देखिन्छ । ठूलो खर्च गरी यसरी हतारमा सम्मेलन गर्नुभन्दा विस्तृत अध्ययन र लामो तैयारी गरी मुलुकले लाभ लिन सक्ने गरी परिणाममुखी सम्मेलन गर्नतिर ध्यान जान आवश्यक छ ।***

तपाईको प्रतिक्रिया