मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

जापानी गायिका आओइ सानोको टोकियोमा एकल कन्सर्ट हुँदै

टोकियो – लोकप्रिय जापानी गायिका आओइ सानोको टोकियोमा एकल साँगीतिक कार्यक्रम हुने भएको छ ।  

गायिका सानोले हिकारी सङ्ग गिफ्ट नामबाट आफ्ना साँगीतिक कार्यक्रमहरुमार्फत नेपालको दुरदराजका बस्तीहरुमा उज्यालो अभियान सञ्चालन गर्दै आएकीछिन् ।
कार्यक्रम यही मार्च २४ तारिख आईतबार टोकियो शिनओकुबो स्थित आरएस आर्ट कोर्ट हलमा साँझ ५ बजेबाट हुने जनाईएको छ ।

नेपाली समुदायमा पनि चिरपरिचत सुन्दरी गायिका सानोले आफ्नो साँगीतिक करियरलाई नेपालको सामाजिक सेवासंग जोडेकी छिन् । आफ्नो गायन कलालाई उज्यालो नेपाल अभियानमा सघाउने उनको योजना रहेको छ ।
नेपालमा गएको २०७२ सालको बिनाशकारी महाभूकम्प पश्चात हरेक बर्ष जापानका विभिन्न क्षेत्रमा साँगीतिक कार्यक्रम गरी कार्यक्रमबाट संकलित रकमले नेपालका भूकम्प पीडित बस्तीहरूमा पुगेर उनले स्वयमसेवीको रूपमा बस्ती उज्यालो पार्ने काम गर्दै आईरहेकी छिन् ।

यस बर्षभरिको कार्यक्रमबाट संकलित रकमले दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वार्ड न २ सोक्ला गाउँमा सोलार लाइट वितरण गर्ने कार्यक्रम रहेको गायिका सानोले समुद्रपारिलाई बताईन् । सोही सिलसिलामा आउंदो बैशाख ७ गते एक सांगीतिक कार्यक्रमका लागि गायिका सानो दोलखा पुग्ने भएकीछिन् ।

आईतवार आयोजित कार्यक्रममा जापानी तथा नेपाली संगीतकर्मीहरूका साथमा गायिका सानोले आफ्ना लोकप्रिय जापानी गीतहरूका साथै केही नेपाली गीतहरू पनि प्रस्तुत गर्ने बताईन् ।
उनलाई रामकृष्णबम मल्ल, सूर्य खड्का, सोना केसी, रामशरण रसाईली, शंकर पाईजा मगर लगायतका जापानमै रहेका नेपाली कलाकारहरुले साथ दिने भएका छन् ।

जापानी दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा जापानबासी नेपालीहरूको पनि उत्साहजनक उपस्थितिका लागि गायिका सानोले अपिल गरेकीछिन् ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा हुन लागेको यस कार्यक्रमले नेपाल-जापान दुई देशबीचको साँस्कृतिक सम्बन्धलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।

जापानमा बसेर सँधै नेपालकै बारेमा चिन्तन मनन गर्ने गायिका सानोले गीत र संगीतकै माध्यमबाट नेपालको बस्ती बस्तीमा सघाउँदै आईरहेकी छिन् ।
समय समयमा नेपालमै पुगेर साँगीतिक कार्यक्रमहरु गरी कार्यक्रमबाट संकलित रकम र आफ्नो समय नेपालका दूर्गम बस्तीहरुलाई उजिल्याउने काममा खर्चिने गरेकीछिन् ।

एकजना जापानी गायिकाले व्यक्तिगतरुपमा नेपालप्रति निरन्तर देखाएको सदाशयता अत्यन्त सह्रानीय रहेको र यसप्रकारका उनका कार्यले जापानी समुदायमा सकारात्मक सन्देश जाने हुँदा नेपाली समुदायको सक्दो सहयोग र सहकार्य हुनुपर्ने जानकारहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया