Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

एकाविहानै झिसमिसेमा अपरिचित नम्वरबाट आएको फोन बेकारमा के उठाउनु भन्ने जस्तो लागेर उठाईएन । १ घण्टाको वीचमा चौथो पटकसम्म फोन तारन्तार बजेकोले रिसिभ गरेँ । ’तपाई सामाजिक विकृतिका विरुध्द कलम चलाउने फलानो पत्रकार होइन?’ भन्ने प्रश्न आयो । मैले कारण जान्न चाहेँ । उनले एकपटक भेट्ने इच्छा जाहेर गरे । एक त अपरिचित अनि फुर्सद पनि नभएकोले मैले उनको प्रस्ताव अस्विकार गरेँ । उनले साह्रै नै जिद्धि अनि अनुनय–विनय गरेकोले मैले भेट्ने प्रस्तावमा सहमत भई टुडिखेलमा भेट्न बोलाएँ । तोकेको समयमा भन्दा म १५ मिनेट अगाडि नै पुगिसकेको हुँदा हो सायद । पुगेर उनको नम्वरमा फोन गरेँ । म छेउ आई उनले हुलिया सोधेर आफु १ घण्टा अगाडि नै आएर मलाई पर्खिबसेको भनेर अभिवादन गरी तपाई सामाजिक विकृति माथि कलम चलाउने मान्छे भएको मैले मेरो साथीबाट सुनेको र केही हाम्रो पनि दुःख सवै सामु पुरयाई यस समस्यालाई अवका दिनमा हटाउन सहयोग गर्न अनुरोध गरे, मैले उनलाई सर्सती नियाले । कालो वर्णको, ख्याउटे अनुहार त्यो पनि निन्याउरो एवं मलिन, मुजैमुजा परेको पाइन्ट, पुरानो खुम्चिएको सर्ट, प्लाष्टिकको कालो चप्पल, जोगीका झै जुँगा दारी, क्रिकेट खेलाडी मालिङ्गको झै लत्ता परेर घुम्रिएको कपाल, नेपाली भाषा बोल्दा केही अड्केर तथा असहज गरी बोल्ने हुँदा लाग्थ्यो उनको मातृभाषा नेपाली थिएन ।

मैले के विषयमा लेख्नुपर्ने हो भनेर सोधे । उनले नेपालमा जेल (कारागार) भित्रको मौलाउदो अराजकता र दण्डहिनताको बारेमा भने। यस्ता विषयमा मैले केही गर्न नसक्ने त्यसका लागि गृह मन्त्रालय लगायताका तालुकदार निकायमा सम्पक गर्न सुझाव दिए र ’माफ गर्नुहोला दाइ म यस विषयमा लेख्न नसक्ने’ बताए र विदा मागे । उनले गहभरी आशु पारेर तपाईसँग मात्र मेरो पहुँच पुगेको हुनाले ठूलो आशा भरोसाका साथ आएको थिएँ भने । यत्ति सुन्नासाथ मेरो मनमा टक्क छोयो । किनकी गृह मन्त्रालय सिहदरबार भित्र छ, जहाँ भित्रबाट फोन नआई गेटबाटै भित्र छिर्नै पाईदैन । यि सबै कुरा अचानक मनमा आएको हुनाले मैले उनको कुरा सुन्ने मनसाय बनाए र पहिला उनका बारेमा जान्न चाहे । उनले मेरो भाका बुझी मुसुक्क मुस्कुराए । हाँस्दा उनका पहेँला दाँतमा साग अडकिएको प्रष्टै देखिदा लाग्थ्यो ब्रस गर्ने बानी थिएन । सर्वप्रथम उनले पहिला परिचय गरौ है भनेर हात अगाडि बढाए, गुड गर्दा उनको हात ठेला उकेर घँघाराका लौरो झै काँडा काँडा बनेको रफ थिए भने औलामा घाउका खतहरु स्पष्ट देख्न सकिन्थ्यो । उनले आफ्नो जीवन कथा कहँदै गए, मैले टाउको हल्लाउदै गए । बडो अजिव र दुखान्त रहेछ उनको जीवनगाथा । उनको वास्तविक घर मकवानपुर जिल्लाको साविकको राईगाँउ गाविसमा रहेछ ।

दनुवार थरका उनी २०६७ सालमा ट्रक चलाउने क्रममा साहुले थाहा नदिई पराल लोड गरेको ट्रकमा गाँजा लोड गराई जनकपुर लैजाने क्रममा बाटोमा चेक जाँच हुंदा उनी पक्राउ परेछन् । विवेक, पहूँच र पैसाको तागतमा उनको साहु पानी माथिको ओभानो सावित भई आफ्नो गाडी र आफू छुटाएछन् भने चालक (उनी) चाही ठूलो मात्रामा लागूपदार्थ ओसार–पासार र बिक्रि वितरण गरेको आरोपमा पक्राउ परेछन् । अदालतबाट आदेश आई उनलाई मुख्य लागु औषध कारोबारको मुद्दामा जेल चलान भएछ । सो अवधिमा उनी मलंगवा (सर्लाही) तानसेन (पाल्पा), झुम्का (सुनसरी) एवं नख्खु(काठमाडौं) लगायतका जेलमा १४ वर्ष बिताएका रहेछन् । दिन र रात गरी सात वर्षमा एक दिन मात्र पहिले उनी सम्पूर्ण सजाय भुक्तान गरी छुटेका रहेछन् र छुट्ना साथ साथीको सहयोगमा मेरो सम्पर्कमा आएका रहेछन् । उनका अनुसार उनी पक्राउ परेको ३ महिना भित्रै  दुईजना लालावालालाई घरमै छोडी श्रीमती पोइला गएकी र अहिले कहाँ छिन उनी बेखबर भएको उनले बताए ।

गाँउको घरबारी साहुकोमा बन्धक राखी दुई लाख पचासी हजार पैसा ऋण लिई घरको सुन, नगद लगायतका सम्पत्ति कुम्लयाएर साना–साना बालबालिकाहरुलाई मध्यरातमा एक्लै छोडी श्रीमती पल्लो गाँउको चिनेकै मान्छेसंग हिडेकी बताए । गाँउमा फोन गर्दा उसका बालबालिका हाल ११ वर्ष र ७ वर्षका छोरा छोरी एक जना साहुको घरमा गोठालो बसेको र अर्को चाहि चिया पसलमा गिलास माझ्ने काम गर्दै गरेको थाहा पाएको उनले बताए । श्रीमतीले त्यस्ता दुई र चार वर्षका दुधे बालबालिकालाई बिजोग बनाई छोडेर गएकोमा अत्यन्तै आक्रोशित देखिन्थे र उनलाई दुईजना लालावाला छोराछोरीको धेरै याद आएको र आजै रात्री बसमा गाउँ जाने टिकट लिईसकेको बताए । जानेर वा नजानेर भए पनि आपराधिक कर्ममा सहभागी भएको प्रतिफल आफूले भोगेको र त्यसले आफ्नो मात्र नभई त्यस्तो खुशी र सारा गाउभरिकै उदाहरणीय परिवार भताभुंग भएको र अब आफ्नो ऊर्जावान समय वर्वाद भएको हुँदा त्यसको पूर्ती गर्न साह्रै गाह्रो पर्ने बताए ।

एक सानो लापरबाहीले जीवनमा धेरै गुमाएको र जिन्दगीको यात्रामा निकै पछाडि परेको हुँदा अब त्यसको सोधभर्ना गर्न धैरे नै हाडछाला घोटाएर मेहनत गर्ने प्रतिबद्धता जनाए, मैले मुख्य विषयवस्तु अर्थात कारागारको कुरा गर्न उनको घरायसी प्रसंगलाई विषयान्तर गर्दै बताउन आग्रह गरेँ । उनका अनुसार जब उनी पक्राउ परे, भनसुन र दबाब दिने मान्छे नभएपछि आरोप कै भरमा उनी ६ महिना पुर्पक्षका लागि जेल चलान गरिए, त्यतिञ्जेल न्यायलयबाट अपराधी किटान नभईसकेको हुनाले आरोपकै भरमा उनी ६ महिना भित्रै थुनिएर बसेछन् । पहुँच र शक्तिका भरमा मुख्य आरोपी अर्थात उसको साहु रसवारी साधन सुन पानीले छर्किएर चोखिएको र उसलाई चाहि मुख्य आरोपी किटान गरियो ।
उनले सुरुमा आरोप त अस्विकार नै गरेछन् तर जब जब पेशीको दिन आँउछ उनलाई एक अलग्गै कोठा जसलाई प्रहरी प्रशासनको भाषामा के.का.शा अर्थात  ’केरकार शाखा’ मा लिएर गईन्थ्यो । अनि भने अनुसारको बयान नदिए गोडा दुई लौरो भाचिन्थ्यो रे । के.का.शा चाहि कैदीहरुको लागि एक ’डरलाग्दो हाउँगुजी घर’ नै हो रे । के.का.शा.मा छिरेको मान्छे गर्दै नगरेको गल्ति पनि स्वीकार गर्ने गर्दछन् रे । मैले यसो सम्झिए ओखलढुंगा जिल्ला र कञ्चनपुर जिल्लाको हालैका घटना, कानुनले पछि निर्दोष सावित गरिएका व्यक्तिहरुले पनि आफैले गल्ति गरेको भनि अपराध कबुल गरेको घटना । अनि उनलाई पुन: अरु भन्न अनुरोध गरेँ, उनले थप भन्दै गए । कारागारभित्र राम्रो शक्ति सम्बन्ध र आर्थिक चलखेलको भरमा एकजना नाइके र उसले आवश्यकताअनुसार भाइ नाइकेको संरचना खडा हुन्छ रे । हो कारागार भित्रको मुख्य समस्याको जड भनेको त्यो नाइके भनाउदा हो रे ।
जेलमा हुँदा एकाध जेल बाहेक अन्यमा चरम मानव अधिकार हुन्न, अराजकता एवं दण्डहनिताले पाटो नाघिसकेको कुरा उल्लेख गर्दै प्रत्येक नाइकेहरुले त्यहाँका जेलरहरु संग राम्रो सम्बन्ध स्थापित गरी भित्र निजी मेश र पसल सञ्चालन गरेका हुन्छन् रे । सरकारबाट बकस भएको सिदा अर्थात राशनको प्रतिव्यक्तिको प्रतिछाक मूल्य प्रचलित बजार भाउ भन्दा अत्यन्तै कम हुने रहेछ । सिदाको कुरा गर्ने हो भने म्याद गुग्रेर बसेका र सबैभन्दा कमसल खालको अनाज नाइकेले उपलब्ध गराउने र जहाँ बियाँ र ढुंगाको प्रतिशत औंलामा गन्न सकिने कुरा बतायो । ३, ४ सय जनालाई थोरै सामानले पुरयाउनु पर्ने बाध्यतामक अवस्थाले गर्दा बोराबाटै चामल डेक्चीमा खन्याइने, आक्कल झुक्कल दालको छोक्रा भेटेमा संयोग मात्र हुने अन्यथा तुर्लङ्ग नुनपानी रुपी दाल खानुपर्ने, कारागारका अधिकांश कैदीले खाने खाना न त केलाईन्छ न त पखालिन्छ रे ।
सिदाको रकम कम भएकोले बजारमा थोरै पैसामा जे पाईन्छ त्यसैको तरकारी साता दश दिनसम्मै निरन्तर खानुपर्ने, चिया खाजामा पनि माथि उल्लेख भएमा ऐजन–ऐजन समस्या रहेको, सुत्ने ठाँउ १८ इन्च चौडाई भएको डसनामा एउटै फराकिलो कोठामा १८० जना भन्दा बढी एकको खुट्टा मुनि अरु एक, अनि त्यसको मुनि अर्को, अर्कोको मुनि अर्को गरी चार पाँच लाइन सम्म सुत्नुपर्ने, जम्मा १८ इन्च चौडा डसना अनि उसले अर्कोलाई छोए मात्रै भने पनि कोर्रा बर्सने परिपाटी, दुर्गन्धित शौचालय, सरसफाईको सामाग्रीहरु नहुनु, धेरैजसोले भित्र नाईकेहरुले सञ्चालन गरेको प्राइभेट मेसमा खाना खाने गरेको, नाइकेहरु त्यस भित्रका राजा झैं व्यवहार गर्ने र त्यहाँ उपलब्ध हुने सामाग्रीहरुको मूल्य कारागार प्रशासनको मिलोमतोमा आफैले निर्धारण गर्ने जुन बजार मूल्य भन्दा न्यूनतम १००% बढी पर्ने हुँदा सर्वसाधारणहरुले त्यहा खरिद गर्न अत्यन्तै गाह्रो पर्ने बताए ।
कैदीका आफन्तले बाहिरबाट ल्याएको कोसेली सर्वप्रथम नाइकेहरुको हातमा पर्नेहुँदा त्यहाँ पुन: शुल्क बुझाए पछि मात्र सम्बन्धित कैदीको हातमा पुग्ने गरेको मौलाउँदा खुरापाती प्रबृत्ति, दाह्री कपाल काट्न त्यहि भित्रका कैदी मध्ये कै एकजना हजामलाई नाइकेले मासिक ४, ५ हजार दिने गरी नियुक्ति गर्ने र त्यहाँ उपलब्ध ३, ४ सय कैदीहरुको दाह्री काटेको ३५ र कपाल काटेको ७० रुपैँया पर्ने बताउँदै त्यो पैसा सबै नाइकेहरुले नै माथि देखि सेटिङ् मिलाएर खाने गरेको उनले बताए ।देखावटीको लागि गुनासो पेटिका स्थापना गरिएता पनि त्यहाँ संकलन भएका राम्रा सुझावको मतलव नहुने र सुधार गर्नुपर्ने कुराहरु राख्यो भने त्यो उल्लेख गर्ने मान्छे पत्ता लगाई उसलाई पुनः के.का.शा.मा लगि गोडा दुई लौरो नाइकेहरुबाट भाचिने गरेको बताए।
देखावटीको लागि प्रत्येक साता जेलरहरु आई  ’केटाहरु सेवा सुविधा र खानामा केहि असुविधा छ भने भन’ भनेर भन्ने गरेको र त्यहाँ कसैले चित्त नबुझेको बताउन साथ ’तपाईसँग थोरै छलफल गर्नु छ त्यसैले एकछिन माथि के.का.शा.मा आउनु त’ भनेर साँझ पख ढाड भाच्चिने गरी रामधुलाई खानुपर्ने व्यवस्था रहेको र कुनै दिन मानव अधिकारकर्मी आउने खबर पाउना साथ नाइकेहरुले अघिल्लो दिन नै सारा कैदीहरुलाई रुलिङ गर्ने र यदि छिसिक्क कसैले नराम्रो कुरा भन्यो भने त्यो मानव अधिकारकर्मी जानासाथ के.का.शा. मा हाजिर हुनुपर्ने बताएर सबैलाई रेडिमेट रुपमा तयार पार्ने गरेको र अधिकारकर्मी आएर सोध्नासाथ सबै कैदीहरु डरले ’हामीले पाईरहेको सेवा सुविधाप्रति हामी पूर्ण सन्तुष्ट छौँ’ भनेर मुटु माथि ढुङ्गा राखी बताउनुपरेको कुरा उल्लेख गरे । कैदी बन्दीहरुले कारागार भित्र उत्पादन/सिर्जना गरेका सामाग्रीहरुको ठेक्का पनि नाइकेहरुले नै लिने, बाँसको एक मुडा बनाएको कैदीहरुले १ सय २५ रुपैँया पाउँदा नाइकेले ३०० रुपैँयामा बजारमा बेच्ने गरेको बताए ।

कैदी बन्दीहरुले घरपरिवारसँग सम्पर्क गर्न फोन गर्नु परयो भने नेपाल टेलिकमले प्रति मिनेट १ रुपैँया ४२ पैसा तोकेकोमा त्यहां प्रतिमिनेट ६ रुपैँया शुल्क तिर्नुपर्ने, कारागार भित्र आवश्यक पर्ने टेलिभिजन, खेलका सामग्रीहरु लगायतका सामानहरु सबै कैदीहरुले आपसमा मिलेर व्यवस्थापन गर्नुपर्ने, कारागार प्रशासनबाट नाइकेहरुले बाहिर गई घुमेर आउन सक्ने नियम रहेको, नाइकेहरु प्रहरीसँग अपवित्र साँठगाँठ गरी कैदीहरुलाई जतिसक्दो दबाव दिने गरेको, जाडो भत्ता लगायतका सरकारद्वारा निर्धारण गरेर विनियोजित बजेट मनोरञ्जन लगायतका नाममा नाइकेहरुले विभिन्न राष्ट्रिय कलाकारहरुलाई कारागार भित्रै बोलाई साँस्कृतिक कार्यक्रम आयोजना गर्ने र त्यहाँ प्रति कैदी न्यूनतम १ हजार खर्च शीर्षकमा असुल्ने गरेको, पत्रकार र मानव अधिकारकर्मीहरु आउने सुइको पाउना साथ नाइकेहरुले कैदीहरुलाई पूर्ववत रुपमै तयार गर्ने गरेको र त्यहाँको नकारात्मक पाटो ओकलेमा बेलुका चाल पाउलास् भनेर धम्क्याउने गरेको बताए । नाइकेको दादागिरी र प्रशासनको मुकदर्शकपना, कैदीहरुको आत्मसम्मानपूर्ण बाँच्न पाउने र नैसर्गिक हकहरु हनन् भईरहेको बताए ।

आगामी दिनमा कारणवश जेल परेको कैदीहरुले आफ्ना पालाको जस्तो समस्या भोग्न नपरोस् भनि यस कुरालाई शासन सत्तामा पुगेका र नियामक निकायहरु माझ पुरयाइदिन अनुरोध गर्दै उनी विदाई भए । मैले उनले भनेका कुराहरु पुरै टिपोट गरेँ र उनको कुरामा केहि विश्वास लाग्यो र केहि शंका लागेर आयो र त्यसपछि मैले नेपालका सात वटा सानाठूला कारागार भ्रमण गरेँ । केहीमा राम्रै जानकारी पाएँ भने केहीमा पाउन सकिएन, मात्रात्मक रुपमा कमबेसी होलान् तर अधिकांशमा माथि दाईले उल्लेखि गरिए अनुसारका ऐजन् ऐजन समस्याहरु यद्यपि रहेको पाएँ । कारागार भित्र पुग्नासाथ नाइके मात्र अघि सरेर बोल्ने गरेको, कैदीहरुले केही केही भन्न खोजेको जस्तो अमौखिक भाषाले पीडा देखाए पनि मौखिक रुपमा ‘हामीलाई सबै राम्रो छ’ भनेर बोलेको पाईयो ।
मेरो भ्रमण/अध्ययनमा कारागार सुधार गर्न देहायनुसारका प्रयासहरु गर्न सकेमा नेपालका जेलभित्र रहेका सबै कैदिहरुले आफुलाई विधिको शासन भएको राष्ट्रका नागरिक भएको प्रत्याभूति गर्न सक्दथे र जेलमा नाइकेहरुको एकल सिण्डिकेट अन्त्य गर्न सकिन्थ्यो :-
१) आरोप प्रमाणित नभई उनीहरुलाई निगरानीमा मात्र राख्ने, पक्राउ गरी पू्र्पक्षको लागि थुनामा नराख्ने
२) केरकार तथा बयान लिने पद्धति परिवर्तन गरी आरोपीको वकिलको रोहबारमा मात्र बयान लिने र केरकार गर्दा वा बयान लिँदा यदि कसैले यातना दिएको थाहा पाईएमा उसलाई मानव अधिकार हननको मुद्दा चलाइने र कानुनअनुसार कारबाही गर्ने
३) कारागारमा मानव अधिकारको न्यूनतम प्रत्याभूति दिलाउन उजुरी, गुनासो पेटिका कारागार प्रशासन हेर्ने तालुकदार निकायको मुख्य प्रतिनिधि, कानुन व्यवसायी र मानव अधिकारकर्मीको रोहबरमा मासिक रुपमा खोल्ने र त्यहाँ उल्लेख भएको मूख्य र तार्किक सुझावलाई आत्मसाथ गर्ने
४) जिर्ण संरचनाको निर्माण, पूननिर्माण गर्ने, अपर्याप्त र जोखिम स्थानमा कैदी नराख्ने
५) खाना, खाजा, चिया, नास्ता बनाउदा गुणस्तरिय अन्न, स्वच्छ पानी, उचित सरसफाई र समय तालिका अनसुार दुध, दही, माछा, मासुको व्यवस्था गर्ने, सिजन अनुसारका हरिया तरकारीको व्यवस्थापन गर्ने
६) बजार मूल्यको आधारमा कैदी वन्दीहरुलाई सिदाको व्यवस्था गर्ने
७) कारागार भित्र निजी मेस (किचन) सञ्चालन नगर्ने, नगराउने
८) बजार मूल्य भन्दा बढीमा सामग्रीहरु विक्रि वितरण गर्न नपाउने नियम बनाउने
९) नाइके/भाइ नाइके छनौट गर्दा कैदी बन्दीहरुबाटै प्रत्रातान्त्रिक परिपाटीबाट छनौट गर्ने र नाइकेहरुको कार्यकाल बढीमा ६ महिना भन्दा बढी नगर्ने

१०) नाइके, भाइ नाइकेलाई २४ घण्टे बाहिर निस्कन पाउने पासको व्यवस्था खारेज गर्ने
११) होच्याएर बोल्ने, तँ भन्ने परिपाटी र हटाउने र सबैले सबैलाई सम्मानित रुपमा व्यवहार गर्ने
१२) कैदीहरुले उत्पादन, सिर्जना गरेको सामाग्रीहरुलाई न्यूनतम बजार मूल्य अनुसार विक्रि वितरण गर्न एक व्यापार समिति बनाई सोहीबाट बढावढमा मूल्य तोक्ने
१३) प्रत्येक साता आवश्यक संख्यामा अधिकारकर्मी र मनोविमर्शकर्तासंग छुट्टै स्थानमा छलफल गर्न पाउने व्यवस्था गर्ने
१४) घर परिवार, आफन्त नातागोता संग टेलिफोन गर्दा सहुलियत दरमा गर्न पाउने व्यवस्था गर्ने र कैदीको गोपनियताको अधिकारप्रति सचेत हुने
१५) कारागार भित्र कैदीले प्रयोग गर्ने सामाग्रीहरु जस्तै पानी, साबुन, सर्फ, टेलिभिजन, रेडियो, खेलकुदका प्रशस्त सामाग्रीहरु कपाल, दाह्री काट्ने सुविधा राज्यले नै व्यवस्था गर्ने
१६) कैदीहरुका आफन्त संग, कानुन व्यवसायीहरुसंग, अधिकारकर्मीसंग सञ्चारकर्मी संग र मनोविर्मशकर्ताहरुसंग आवश्यकताअनुसार भेटघाट गर्न दिने
१७) दूधे बालबालिका सँगै रहेका महिलाहरुलाई लैंगिक संवेदनशिलता ख्याल गरी मैत्री व्यवहार गर्ने
१८) अध्ययन गर्न चाहने र रुची भएकाहरुलाई अध्ययन गर्ने उचित वातावारण बनाइदिने
१९) कारागार भित्र भिआइपी वा सामान्य सबै कैदीहरु विभेदिकृत व्यवहार नगर्ने, सबैलाई एकै ठाउँमा राख्ने, उस्तै व्यवहार गर्ने
२०) कैदीहरुलाई मतदानको अधिकार सुरक्षित गर्ने
२१) मनोरजनात्मक, सूचनामूलक, ज्ञानवर्धक सामाग्रीहरुको प्रशस्त व्यवस्था गर्ने
२२) श्रीमान र श्रीमती एउटै कारागारमा छन् भने प्रत्येक दिन भेटघाट गर्ने व्यवस्था गराईदिने
२३) आवश्यकता अनुसार प्राथमिक उपचारको व्यवस्था, खोप, स्वास्थ्य परिक्षण तालिका बनाएर व्यवस्था गर्ने
२४) गणतन्त्र, लोकतन्त्र इत्यादि दिवसका अवसर पारी कैदीहरुलाई सजाय मिनाहा गर्ने परिपाटी बन्द गर्ने
२५) सबै कैदीहरुलाई परिचय पत्र वा नम्बरको, ड्रेसको व्यवस्था गर्ने
२६) अभिभावक दुबै जना कारागारमा भएका बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्ने
२७) कारागारलाई एक सुधारगृहको रुपमा विकास गर्न प्रत्येक विहान योगा शिविर, आदर्श वाणीहरु, जिवन उपयोगी सीपको विकास, ध्यान शिविर, रुचि अनुसारको व्यवसायिक तालिम, जिम क्लब, नृत्य प्रशिक्षण केन्द्र लगायतका संरचना राज्यले व्यवस्था गर्ने र उनीहरुमा सकारामत्मक सोच विकास गराउने ता कि पुनः उनीहरु दुष्कर्ममा नफसून्

उल्लेखित २७ बुँदे सुझावको कार्यान्वयन गर्न सकेको खण्डमा नेपाली कारागार विश्वकै उत्कृष्ट मानव अधिकारको प्रत्याभूति भएको कारागार हुनेछ । जसलाई कैदीहरुले आफुलाई सुधारगृह भित्र आएको भान गर्नेछन् । हाम्रो राष्ट्र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा पूर्व जीवनमा भूल गरेकाहरुले कारागार भित्र रहंदा बिधिको शासनको प्रत्याभूति गर्न पाउने वातावरण सिर्जना गर्न सकेमा नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको स्लोगनले एक महत्वपूर्ण इण्डिकेटर पास गरेको प्रमाणित हुनेछ । सम्बन्धित तालुकदार निकायहरुलाई बेलैमा चेतना भया ।***

तपाईको प्रतिक्रिया